Aamsanchar

दोस्रो भद्रपुर झापा गोल्डकप : दर्शकमैत्री योजनासहित तयारी पूरा

Author Image
सोमवार, फागुन ५, २०८१

भद्रपुर । जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता दोस्रो भद्रपुर झापा गोल्डकप यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको छ। ऐतिहासिक मेची रंगशालामा आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

दर्शकमैत्री योजनालाई विशेष प्राथमिकता दिँदै प्रतियोगिताका लागि करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ। प्यारापिट मर्मत तथा रङरोगन कार्य अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता अवधिभर दर्शकलाई सहज अनुभूति गराउन प्यारापिटको स्तरोन्नतिसहित स्वागत गेट निर्माण र सुरक्षा व्यवस्थामा पनि ध्यान दिइएको छ।

प्रतियोगिताको आकर्षणलाई बढाउन टिकट काट्ने भाग्यशाली दर्शकहरूका लागि विशेष उपहार योजना सार्वजनिक गरिएको छ । फाइनलमा एकजना दर्शकले जगदम्बा मोटर्सबाट एक थान टीभीएस मोटरसाइकल तथा अर्को एकजना दर्शकले सुनचाँदी व्यवसायी संघ भद्रपुरको तर्फबाट एक थान सुनको सिक्री उपहारस्वरूप प्राप्त गर्नेछन्।
यसबाहेक, हरेक खेलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट दुईजनाका लागि डिनर तथा सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाले एक थान चाँदीको सिक्का प्रदान गर्ने योजना छ। फाइनलका दिन थप पाँचजना दर्शकले स्प्रे ट्यांकी पुरस्कार स्वरूप पाउनेछन्।

टिकट दर क्वार्टरफाइनलसम्मका लागि २०० रुपैयाँ, सेमिफाइनलका लागि ३०० रुपैयाँ, फाइनलका लागि बाँसको प्यारापिटतर्फ ३०० रुपैयाँ र पक्की प्यारापिटतर्फ ५०० रुपैयाँ तोकिएको छ।
यस वर्षको प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्ससहित ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यू रोड टिम, एपीएफ एफसी, झापा ११ एफसी, भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बंगलादेशको काउर्न बजार प्रगति संघ सहभागी हुँदैछन्।

विजेताले नगद १३ लाख तथा उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५ हजार, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गर्ने कार्यक्रम रहेको छ । भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताका रूपमा रहने यस प्रतियोगितालाई भव्य र उत्कृष्ट बनाउन आयोजकले सम्पूर्ण उद्योगी, व्यवसायी, सञ्चारकर्मी र खेलप्रेमीहरूलाई सहकार्यका लागि आयोजकले अग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर