Aamsanchar

बी डिभिजन लिग बहिष्कारको चेतावनीसहित क्लबहरूको ज्ञापनपत्र एन्फामा

Author Image
बिहिवार, फागुन ८, २०८१

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग सुरु हुन केही दिन मात्र बाँकी रहँदा सहभागी क्लबहरूले आफ्ना माग पूरा नभए प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएका छन्।

लिग खेल्न तयारी अवस्थामा रहेका १४ क्लबमध्ये १० क्लबले संयुक्त रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापनपत्र बुझाउँदै आफ्ना माग सम्बोधन गर्न तीन दिनको समयसीमा दिएका हुन्।

ज्ञापनपत्रमा हस्ताक्षर गर्ने क्लबहरूमा आरसीटी, मध्यपुर युथ एसोसिएसन, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, नयाँ बस्ती युवा क्लब, वीरगन्ज युनाइटेड, टुसाल युथ क्लब, श्री कुमारी क्लब, च्यासल युथ क्लब र ब्वाइज युनियन रहेका छन्।

क्लबहरूले फागुन २५ गतेदेखि सुरु हुने भनिएको लिगको तयारी गरिरहे पनि एन्फाले पुराना सहमति कार्यान्वयन नगरेको गुनासो गरेका छन्। माग पूरा नभए मैदान नओर्लिने चेतावनीसमेत उनीहरूले दिएका छन्।

क्लबहरूले के माग गरेका छन्?
१. लिग सुरु हुनुअघि नै क्लबलाई दिने सहमति भएको २ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने।
२. खेलाडी तथा प्रशिक्षण सामग्रीका लागि केल्मी ब्रान्डका २ लाख रुपैयाँ बराबरका सामग्री छुटमा उपलब्ध गराउनु पर्ने।
3. तीन महिनाका लागि सार्वजनिक गरिएको खेल तालिका घटाई हप्तामा दुई खेल खेलाएर लिग ५० दिनमै सक्ने गरी पुनः निर्धारण गर्नु पर्ने।
4. लिग नखेले क्लबलाई कारबाही मात्र हुने नियम हटाई, एन्फाकै कारण लिग रोकिएमा क्लबलाई खर्च ब्यहोर्ने व्यवस्था नियमावलीमा समावेश गर्नु पर्ने।

एन्फालाई तीन दिनको समयसीमा
क्लबहरूले तीन दिनभित्र आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन्। माग पूरा नभए लिग बहिष्कार गर्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी एन्फाले लिनुपर्ने स्पष्ट पारेका छन्।

लिग सुरु हुन लाग्दा विवाद
बी डिभिजन लिग यही फागुन २५ गतेदेखि सुरु हुने एन्फाले तालिका सार्वजनिक गरिसकेको छ। तर, प्रतियोगिता सुरु हुनुभन्दा अगावै क्लब र एन्फाबीच देखिएको असमझदारीका कारण लिग नै अनिश्चित बन्ने हो कि भन्ने आशंका बढेको छ।

अब एन्फाले क्लबहरूको माग पूरा गर्छ या तनाव झन् चुलिन्छ, त्यो भने केही दिनमै स्पष्ट हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर