




गत वर्ष वैशाख १९ गते सञ्चालनमा आएको यो भन्सार कार्यालय गत पुस १६ गतेदेखि बिना कुनै पूर्वसूचना बन्द गरिएको हो। त्यसयता स्थानीय सरकार र व्यवसायीले बारम्बार आवाज उठाउँदा पनि नाका पुनः सञ्चालन हुन सकेको छैन।


पर्यटकको ओहोरदोहोर ठप्प, व्यवसायी निराश
नाका बन्दपछि चितवन आउने भारतीय पर्यटकहरूलाई वीरगञ्ज वा भैरहवाको लामो बाटो रोज्नुपर्ने बाध्यता आइलागेको छ। यसले माडी, भरतपुर, सौराहा, मेघौलीजस्ता पर्यटकीय क्षेत्रहरूमा सीधा असर परेको छ।

माडी भिलेज रिसोर्टका सञ्चालक आर्यन चौधरी भन्छन्, “पहिले दैनिक ३–४ वटा स्कारपियो लिएर भारतीय पर्यटक आउँथे, अहिले त लगभग ठप्प छ।” उनको रिसोर्टमा दैनिक ३० हजार रुपैयाँभन्दा बढी घाटा हुन थालेको छ।


सरकारको उदासीनता र स्थानीयको असन्तुष्टि
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ भन्छन्, “एकाएक नाका बन्द भयो, यसको असर सबैतिर परेको छ। सरकार गम्भीर देखिँदैन। कम्तीमा सवारी प्रवेश प्रज्ञापत्र त काट्न दिनुपर्यो।”
माडी नगर प्रमुख ताराकुमारी काजी महतोले भन्छिन्, “भारतीय पर्यटकका कारण चितवन राष्ट्रिय निकुञ्जदेखि बजारसम्म चहलपहल थियो। अहिले सबै शान्त छ।”
आर्थिक घाटा र प्रशासनिक बेवास्ता
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, भन्सार कार्यालयको अनुमति गत वर्षको डिसेम्बरसम्म मात्र थियो। नयाँ स्वीकृति नहुँदा कार्यालय बन्द गरिएको हो। “हामी तयार छौं, तर मन्त्रालयको निर्णय पर्खनु परेको छ,” उनले बताए।
८ महिनामा १० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन र डेढ लाख भारतीय पर्यटक आगमन भएको यो नाका अहिले निष्क्रिय छ।
ठुलो गिरोहको संलग्नतारु
ठोरी जंगल रिसोर्टका सञ्चालक सुदिप थापा यो नाका सञ्चालन हुन नदिन ठूलो गिरोह लागिपरेको आशंका गर्छन्। “देशभित्र पर्यटक बढाउने भनिन्छ, अनि चलिरहेको नाका बन्द गरिन्छ—यस्तो नीतिले पर्यटन अघि बढ्दैन,” उनले भने।
ठोरी नाका बन्द रहँदा नेपाली पर्यटन क्षेत्रको ठूलो सम्भावना बन्द ढोकाजस्तै भएको छ। राजस्व संकलन, स्थानीय रोजगारी, होटल व्यवसाय, धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन—सबै प्रभावित छन्।
अब सरकारले गम्भीर भएर ठोरी नाका पुनः सञ्चालन गर्ने स्पष्ट निर्णय लिनुपर्छ, ताकि ‘घुम्न आएर दुःख पाउने होइन, आनन्द लिएर फर्कने’ अनुभव लिएर पर्यटक नेपाल फर्कून्।




































