




झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।


तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्यो ।

यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।


नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ ।
सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गरेको थियो ।
प्रसाईंलाई झापाको गलगिलया नाका हुँदै नेपाल ल्याइएको बताइएको छ । अब उनलाई भद्रपुर विमानस्थलबाट जहाजमा काठमाडौँ लैजाने तयारी भएको छ ।
नाका परिवर्तन
उनलाई नेपाल ल्याउन लागिएको खबरपछि शुक्रबार बिहान झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउन लागिएको हो ।
चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । पूर्वराजाको पक्षमा आयोजित प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो । सुवेदीलाई गौरीघाट स्थित घरमै नजरबन्द गरिएको छ ।
प्रसाईँ भने त्यहाँबाट भागेर भारत पुगेका थिए । भारतमा पुगेपछि उनले सामाजिक सञ्जालमा दुईवटा भिडियो सन्देश पोस्ट गरेर आफू नेपालमै भएको तर ‘जोगिएर’ बसेको बताएका थिए ।
प्रसाईँ भारतको आसाम स्थित कांग्रेस आईका एकजना स्थानीय नेताको घरमा लुकेर बसेको प्रहरीका एकजना उच्च अधिकृतले बताए । प्रसाईँ विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाइने प्रहरी अधिकृतहरू बताउँछन् ।




































