


फायल फाेटाे




काठमाडौं – दुर्गा प्रसाईसँगै उनका अंगरक्षक दीपक खड्का समेत पक्राउ परेका छन्। चैत्र १५ गते राजावादीको हिंसात्मक प्रदर्शनपछि प्रसाईसँगै खड्का पनि फरार भएका थिए।

राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइएको छ। प्रसाईसँगै खड्का पनि भेटिएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको हो।


दुवैजनालाई काठमाडौं ल्याएर राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ। प्रसाईलाई बद्रपुर विमानस्थलबाट आजै काठमाडौं ल्याउने प्रहरीको तयारी छ।
राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन्।
प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो। गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि उनी फरार थिए।




































