Aamsanchar

चैत १५ गते भएको घटनाको पूर्वराजाले गरे दु:ख व्यक्त

Author Image
आइतवार, चैत ३१, २०८१

काठमाडौं –पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ।’ पूर्वराजा शाहले भने, ‘केहीदिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी ,तोडफोड भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो। त्यो सुन्दा हामीलाई अन्त्यन्तै दुस्ख लाग्यो।’

उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताए। उनले भने, ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रोरनराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ।’ शाहले नेपाली जनतामा देशभक्ति भावना विश्वमै अनुकरणीय रहेको दाबी गरे।

गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा एक जना पत्रकार र एक जना सर्वसाधारणको ज्यान गएको थियो। राजावादीको आन्दोलनमा व्यक्तिका घर, पसल, अन्नपूर्ण पोष्ट् र कान्तिपुरको कार्यालय, राजनीतिक दलका कार्यालय, सरकारी र निजी सवारीसाधनलगायतका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीजस्ता कार्य भएका थिए।

यस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकले तीनकुने क्षेत्रमा भएको हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको थियो।राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्तिहरु पक्राउ परिसकेका छन्। गत चैत १५ गते राजावादीको प्रदर्शनमा हिंसा भड्काएको आरोप प्रसाईमाथि छ। प्रहरीले उक्त घटनामा संलग्नहरुमाथि अनुसन्धान र खोजी जारी राखेको छ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर