Aamsanchar

इलाममा पर्यटन प्रवर्द्धनका लागि गाइड–पोर्टर–ड्राइभर क्लब स्थापना

Author Image
सोमवार, वैशाख १, २०८२

इलाम ।  पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य इलाममा पर्यटन प्रवर्द्धन र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन ‘गाइड–पोर्टर–ड्राइभर क्लब’ स्थापना गरिएको छ। इलाम नगरपालिका वडा नं. ५ स्थित बिप्ल्याटे बजारमा स्थापित यो क्लबको औपचारिक उद्घाटन आगामी वैशाख १ गते, कोशी प्रदेश पर्यटन वर्ष २०८२ को अवसर पारेर हुने भएको छ।

इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, र पर्यटन कार्यालय काकरभिटाबीचको त्रिपक्षीय सहकार्यमा स्थानीय पर्यटन उद्योगमा आवश्यक दक्ष जनशक्ति निर्माण र व्यवस्थापनको उद्देश्यसहित क्लब स्थापना गरिएको हो। क्लबमार्फत गाइड, पोर्टर, र पर्यटकवाहक सवारी चालकहरूको तथ्याङ्क संकलन, दक्षता अभिवृद्धिका तालिम सञ्चालन तथा सेवाको व्यावसायिक प्रवर्धन गरिनेछ।

इलाम नगरपालिकाका अनुसार, पछिल्लो समय इलाम बजारमा मासिक करिब ३,५०० आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन हुने गरेको छ। पर्यटकहरूको संख्यामा थप वृद्धि गर्न गुणस्तरीय सेवा प्रवाह र व्यवस्थापनका लागि नगरपालिकाले सन्दकपुर गाउँपालिकासँग मिलेर संयुक्त कार्ययोजना पनि अघि बढाएको छ।

क्विन इलाम पर्यटन प्रवर्द्धन समिति र इलाम उद्योग वाणिज्य संघको सहकार्यमा गरिएको तथ्यांक अध्ययनपछि पर्यटन क्षेत्र व्यवस्थित गर्न नगर पर्यटन प्रवर्द्धन केन्द्र पनि सञ्चालनमा ल्याइएको हो। इलाम नगरपालिका वडा नं. ७ स्थित बहुतले पार्किङ भवनमा रहेको यो केन्द्रले पर्यटन सूचना प्रवाहमा भूमिका खेल्नेछ।

क्लबले यातायात व्यवस्थापन, गाइड तथा पोर्टरको उपलब्धता, ट्राभल एजेन्सीहरूसँग समन्वय, पर्यटक सवारी साधनहरूको पार्किङ व्यवस्था, तथा विभिन्न पर्यटकीय स्थलहरूमा जाने पर्यटकहरूको अभिलेख संकलन जस्ता सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको छ।

क्लबको सम्पर्कका लागि ०२७–५९०३५५ र ९८४२६७१६९१ नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।

उद्घाटन समारोहमा स्थानीय, प्रदेश तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूको उपस्थितिका लागि आयोजक समितिले सबैमा हार्दिक निमन्त्रणा गरेको छ।

Views: 82

प्रतिक्रिया (०)