




आज यिनै प्रश्नहरूको उत्तर मोड्ने, तोड्ने र अर्थहीन बनाउने प्रयास सुरु भएको छ। कांग्रेसलाई मधुरो र अस्पष्ट बनाउने प्रयास दृष्टि र सोचमा कमजोरी भएका व्यक्तिहरूबाट निरन्तर भइरहेको छ।


यदि आज यस्तो प्रयास कसैबाट भइरहेको छ भने, त्यो दुई दलिय गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट भइरहेको छ।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा भने, “अब सरकारविरुद्ध कोही कांग्रेसी बोल्दैन”, “कांग्रेस भनेको देउवा हो, देउवा भनेको कांग्रेस हो” भन्ने अभिव्यक्तिबाट सम्पूर्ण कांग्रेसलाई न केवल झस्काएका छन्, तर रिसाएको समेत देखिन्छ।

यो आक्रोश भविष्यमा मात्र होइन, केही दिनमै कांग्रेसभित्र स्पष्ट देखिनेछ।
पञ्चायतकालमा “सबै पञ्च नेपाली, सबै नेपाली पञ्च” भनिँदा पञ्चायत अन्ततः गएको थियो। आज प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति देउवा पक्षका विश्वस्त र सचिवालयका कर्मचारीहरूलाई कर्णप्रिय लागे पनि समग्र कांग्रेसका लागि भने त्यो स्वीकार्य छैन।
यदि कुनै व्यक्तिलाई ‘म कांग्रेसी हुँ’ भन्ने बोध छ भने, कांग्रेसप्रति गर्व र निष्ठा छ भने, कांग्रेस भनेकै बी.पी. हो, बी.पी. का विचार र आदर्श हुन् भन्ने भाव अब जाग्नैपर्छ।
डा. शेखर कोइरालामा यो भाव सबैभन्दा पहिले जागेको देखिन्छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको २४ घण्टा नबित्दै उनले गठबन्धनको औचित्य सकिएको, सात बुँदे सहमति कार्यान्वयन हुन नसकेको र सबै कुरा टाइम पास मात्र भइरहेको भनी जवाफ दिएका छन्।
प्रधानमन्त्रीले देउवालाई निश्चित समयमा सत्ता हस्तान्तरण गर्ने भनाइ कर्णप्रिय लागे पनि, ओलीको विगतको गठबन्धनप्रतिको व्यवहार हेर्दा यो विश्वसनीय देखिँदैन। देउवाले यसबारे सतर्क हुनुपर्ने देखिन्छ।
एमालेसँग गरिएको गठबन्धनले कांग्रेसको संगठनलाई दिनप्रतिदिन कमजोर बनाइरहेको छ। प्रधानमन्त्री ओलीको कांग्रेसलाई कमजोर बनाउने रणनीति अन्तर्गत नै “कांग्रेस भनेको देउवा” भन्ने कथन आएको हो। डा. शेखरले भने झैँ, भोली कांग्रेसको प्रतिस्पर्धी एमाले हो, र एमालेको प्रतिस्पर्धी कांग्रेस हो भन्ने बुझाइ प्रधानमन्त्री ओलीको पनि रहेको छ।
लोकतान्त्रिक सरकार सञ्चालनका लागि संयन्त्रहरू बनाउने अभ्यास गर्नु लोकतन्त्रको आत्मा कमजोर बनाउनु हो, जसको औचित्य छैन। प्रधानमन्त्रीले एक कदम अघि बढ्दै “शुशासन आयोग” गठन गरेर लोकतान्त्रिक संयन्त्रहरू निष्क्रिय बनाउने संकेत दिएका छन्।
अब पनि कांग्रेस गठबन्धनमा बसिरहन्छ ?
प्रधानमन्त्री केपी ओलीले “कांग्रेस भनेको देउवा हो” भन्दै कांग्रेसीलाई तीव्र चड्कन दिएका छन्। गालामा त सम्भवतः उनका औंलाहरूको छाप नहोस् तर सबै कांग्रेसीको हृदयमा गहिरो चोट परेको छ। कांग्रेसभित्र यसको जवाफ खोजिनुपर्छ — र त्यो जवाफ गठबन्धन तोडेर दिनु कांग्रेसको दायित्व बन्छ।
अब यो दायित्व सभापति देउवाको काँधमा आएको छ। देउवाले “कांग्रेस भनेको देउवा होइन, कांग्रेस भनेको कांग्रेस नै हो” भनेर अहिले धमिलो र अस्पष्ट बनेको कांग्रेसलाई स्पष्ट, सशक्त र सांगठनिक रूपमा सबल बनाउन गठबन्धन तोडेर कांग्रेसको मानमर्दनबाट बचाउनुपर्छ।
दुई दलबीचको संरक्षण र पदको आशामा गरिएको गठबन्धनकै कारण शुशासनको जग भत्किएको छ, भ्रष्टाचार र विचौलियाहरू अगाडि देखिएका छन्।
गभर्नरको नियुक्ति गर्न नसक्दा दुई दलको शक्तिशाली भनिएको सरकार नै निरीह र कमजोर देखिन थालेको छ। गभर्नर केवल एक पद होइन, यसको कार्यदायरा हेर्दा “पर्दे के पीछे क्या है” भन्ने गीत सम्झनलायक स्थिति बनेको छ। जब गभर्नरको नियुक्ति गर्न सक्दैन, तब शुशासन कसरी सम्भव हुन्छ?
भोलि जब गठबन्धन सरकारको मूल्यांकन हुनेछ, सबैभन्दा ठूलो क्षति लोकतान्त्रिक दलका रूपमा परिचित र ऐतिहासिक योगदान दिएको कांग्रेसलाई नै पुग्ने देखिन्छ।




