Aamsanchar

गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ, १० महिने छोरी अझै बेपत्ता

Author Image
बिहिवार, जेठ ९, २०८२

धनुषा ।  आफ्नै गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ निवासी हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनले आठ महिनाको गर्भवती पत्नी अञ्जली यादवको हत्या गरेको स्वीकारेका छन् भने १० महिनाकी छोरीको अवस्था अझै अज्ञात छ।

धनुषा प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत आरोपी यादवलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार लागुऔषधको लत लागेका यादवले नशाको अवस्थामा घरायसी विवादका क्रममा अञ्जलीलाई पेटमा कडा प्रहार गरी हत्या गरेका थिए।

हत्या पश्चात शव लुकाउन उनले आफ्नै घरको पूजा कोठामा गाडेको अनुसन्धानबाट खुलेको छ। प्रहरी अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार यादवले घटनापछि तीन–चार दिन घरमै बिताएका थिए, त्यसपछि फरार भएका थिए।

शव गाडिएको स्थानमा सिमेन्टको ढलान

फागुन १७ गते अञ्जली बेपत्ता भएको एक सातापछि स्थानीयले घरमा शंका लागेर प्रहरीलाई खबर गरेका थिए। घरको ताला फोडेर प्रवेश गरेको प्रहरीले पूजा कोठामा नयाँ सिमेन्टले ढलान गरिएको पत्ता लगाएपछि उत्खनन गर्दा गन्हाएको अवस्थामा अञ्जलीको शव फेला परेको हो।

छोरीको अवस्था अझै अस्पष्ट

हरिरामले बयानमा कहिले छोरीलाई नालामा फालेको त कहिले सँगै लगेको बताएका छन्। विरोधाभासी बयानका कारण प्रहरीले छोरीको पनि हत्या गरिएको हुन सक्ने आशंका गरेको छ। तर हालसम्म छोरीको अवस्था पुष्टि हुन सकेको छैन।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीले पक्राउ परेका हरिराममाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए। ‘१० महिने छोरीको अवस्थाबारे अहिलेसम्म केही पुष्टि भएको छैन। खोजबिन जारी छ,’ रेग्मीले  जानकारी दिए।

Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर