




अमेजन अहिले ‘युनी ट्री १’ नामक ह्युमनोइड रोबोट परीक्षणमा जुटेको छ। दुई हात, दुई खुट्टासहित मानिसजस्तै चालढाल गर्न सक्ने यी रोबोटहरूले ग्राहकको ढोकासम्म सामान पुर्याउने जिम्मेवारी लिनेछन्। यसको परीक्षण अमेरिका, सान फ्रान्सिस्कोस्थित ‘ह्युमनोइड पार्क’ मा भइरहेको छ, जहाँ यी रोबोटहरूलाई अप्ठ्यारा अवस्थाहरूमा काम गर्न सिकाइँदैछ।


यी रोबोटहरू ‘रिभियन इलेक्ट्रिक डेलिभरी भ्यान’ सँग समायोजनमा राखिएको बताइएको छ। उनीहरू सिधै भ्यानबाट ओर्लन्छन्, प्याकेज बोक्छन् र प्रयोगकर्ताको ढोकासम्म डेलिभरी गर्छन्।

अहिले परीक्षणकै चरणमा रहेको यो प्रविधिलाई अमेजनले पायलट परियोजना को रूपमा लिएको हो। कम्पनीका अनुसार, हालसम्म रोबोटहरू पूर्ण क्षमतामा नपुगेकाले मानिसहरूकै भरमा डेलिभरी भ्यान सञ्चालन भइरहनेछ। तथापि, यो प्रविधिले निकट भविष्यमा डेलिभरी कार्यहरूमा पूर्ण स्वचालन ल्याउने संकेत गरिसकेको छ।

ह्युमनोइड रोबोटको मूल्य झण्डै १६ हजार अमेरिकी डलर रहेको बताइएको छ। यद्यपि लागत धेरै देखिए पनि अमेजनको दीर्घकालीन योजना लागत घटाउने र डेलिभरी प्रक्रियालाई तीव्र बनाउने रहेको छ।
रोजगारीमा असरको चिन्ता
विश्वभर अमेजनसँग आवद्ध रहेका लगभग १५ लाखभन्दा बढी डेलिभरी कर्मचारीहरूमध्ये मात्र अमेरिकामै २।७५ लाख कर्मचारी छन्। यदि ह्युमनोइड प्रविधि व्यापक रूपमा प्रयोगमा आयो भने हजारौं मानवीय डेलिभरी म्यानहरू जोखिममा पर्ने सम्भावना देखिन्छ।
तर कम्पनीले भने अहिले नै रोजगारीको ह्रास हुने चिन्ता नगर्न आग्रह गरेको छ। यो प्रविधि परीक्षणको चरणमै रहेको र तत्काल प्रभाव नपर्ने बताइएको छ।
डेलिभरी मात्र होइन, गोदाम स्वचालन पनि लक्ष्य
पहिले गोदाम व्यवस्थापनका लागि रोबोट प्रयोग गरिसकेको अमेजन अब उक्त अनुभवलाई ‘लास्ट माइल डेलिभरी’ मा विस्तार गर्दैछ। यसले डेलिभरीमा लाग्ने समय घटाउने, मानवीय त्रुटिमा कमी ल्याउने र लागत घटाउने लक्ष्य लिएको छ।
यदि सबैकुरा योजना अनुसार अघि बढ्यो भने, निकट भविष्यमै ग्राहकले ढोका ढकढक्याउने रोबोटसँग सामना गर्नुपर्ने दिन टाढा छैन।




