नेपाली राजनीति फेरि पुरानै रोगले ग्रस्त भएको छ—नेतृत्व परिवर्तन हुन नसक्ने र पार्टी “व्यक्तिको बन्धक“ बन्ने। नेपाली कांग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओवादी केन्द्रमा पुष्पकमल दाहाल दशकौँदेखि कुर्सीमा अड्किएका छन्। उनीहरू अब पनि पार्टीको अन्तिम सभापति वा अध्यक्ष बन्ने लोभ त्याग्न तयार देखिँदैनन्।

दोस्रो तहका नेताहरू समेत निर्णायक हुन नसक्ने कमजोरीले शीर्ष नेताहरूको पदमोहलाई अझै मलजल गरेको छ। कतिपयले अनुभवको नाममा पुरानै नेतृत्वलाई निरन्तरता दिन खोजिरहेका छन् भने कतिपयले आधा–अधुरा स्वरमा मात्र नयाँ पुस्ताको कुरा उठाइरहेका छन्। परिणामस्वरूप, पार्टीहरू आन्तरिक गतिहीनता र बाह्य अविश्वासमा फसिरहेका छन्।

अगाडि निर्वाचन आउन छ महिनामात्र बाँकी छ। तर नेतृत्व परिवर्तन नहुने संकेत प्रष्ट छ। यही ढर्राले अघि बढ्दा पार्टीभित्र विद्रोह चर्किने, असन्तुष्ट पुस्ता बाटो छुट्ट्याउने र अन्ततः दलको अस्तित्व नै संकटमा पर्ने अवस्था देखिन्छ। इतिहासले धेरै उदाहरण दिएका छन्—व्यक्तिमुखी राजनीति कहिल्यै दिगो हुँदैन, संगठनभन्दा व्यक्तिलाई ठूलो ठान्ने पार्टी दीर्घकालमा समाप्त हुन्छ।

आज प्रश्न स्पष्ट छ—शीर्ष नेताहरूले पदमोह त्यागेर बाटो खोल्छन् कि, पार्टीलाई आफ्नो अहंकारको बलिमा चढाउँछन्?


यदि नेताहरू अझै अटेरी रहे भने दोष मतदाताले होइन, इतिहासले दिन्छ—“दलको विनाश गर्ने“ भनेर।

