

काठमाडौँ – इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरू गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी गराएका हुन्।
संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत २९ वर्षीय श्रेष्ठको निधन भएको थियो।

क्षेत्रीले अहिले खाडी मुलुकहरूमा रहेका सबै नेपाली नागरिकहरु तथा ट्रान्जिटमा फसेका नागरिकसमेत सुरक्षित रहेको त्यहाँस्थित नियोगहरूले जानकारी गराएको बताए।
उनले खाडी क्षेत्रमा रहेका १० वटै नियोग तथा सरकारी निकायहरूबाट पछिल्लो घटनाक्रमबारे निरन्तररुपमा प्रतिवेदन प्राप्त भइरहेको समेत जानकारी गराए।
उनले मध्यपूर्वमा बढ्दो समस्याको कारण नेपाली नागरिकको सुरक्षासँग सम्बन्धीत समस्याको हल गर्न परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा इमरजेन्सी रेस्पोन्स टिम गठन गरिएको समेत जानकारी गराए।


