Aamsanchar

झापामा लागु औषध कारोबारीको नयाँ जुक्ती : सागको मुठामा लुकाएर ल्याउँदै गरेको लागु औषध फेला

Author Image
बुधवार, वैशाख ९, २०८३

झापा-  लागु औषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागु औषध भित्र्याउने गरेको पाइएको छ ।

लागु औषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछि प्रहरीको आँखा छल्नका लागि नयाँनयाँ उपाय अपनाउन थालेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित मेची पुल क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी ५० वर्षीया खैरुन खातुनलाई शङ्का लागेर जाँच गर्दा लागु औषध फेला परेको छ ।

मङ्गलबार साँझ खातुनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । ५० वर्षीया खातुनले हातमा बोकेको कालो प्लास्टिकको झोलाभित्र पाटाको सागको मुठामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्लास्टिकसहित चार ग्राम १४० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी मङ्गलबार राति दमक नगरपालिका–८, किरात चोकका २२ वर्षीय एलिसराज खरेललाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले घरमा खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाइ राखेको अवस्थामा प्लास्टिकसहित छ ग्राम ९७० मिलिग्राम र प्लास्टिकबाहेक पाँच ग्राम ७३० मिलिग्राम ब्राउन सुगर तथा डिजिटल तराजु बरामद गरेको जनाइएको छ ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर