

काठमाडौं- दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ।
संकटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको हो।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा लाटोकोसेरो उत्सव हुन लागेको हो।

किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलो पटक उत्सवको आयोजना गरिएको प्रकृतिका साथी संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए। उनका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार र चोरीसिकारी बढ्दै जाँदा यसको अस्तित्व संकटमा परेको छ।
लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षणको सन्देश पु¥याउने, स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने र जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्यले यसअघि धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु,
दोलखा र खोटाङलगायत जिल्लामा यो उत्सव गरिएको संस्थाका निर्देशक आचार्यले बताए। दुई दिनसम्म सञ्चालन हुने उत्सवमा पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा श्रव्यदृश्य सामग्रीको प्रस्तुति राखिन छ। दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसँग सम्बन्धित सामग्रीको प्रदर्शनी गरिने आयोजकले जनाएको छ।



