सरकारले ग्रामीण अर्थतन्त्रको पुनर्जीवन तथा कृषिलाई सम्मानजनक र उद्यमशील पेशाका रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्द्धन गर्ने घोषणा गरेको छ।
नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण, आयात प्रतिस्थापन तथा खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न नीतिगत सुधारलाई तीव्रता दिइने उल्लेख गरिएको छ।
सरकारले ‘प्याकेजमा आधारित उत्पादन प्रणाली’, कृषि यान्त्रिकीकरण, डिजिटल प्रविधि तथा एग्रिटेकको प्रयोगमार्फत कृषि आधुनिकीकरणलाई गति दिने जनाएको छ। आधुनिक प्रविधिको प्रयोगले उत्पादन वृद्धि र किसानको आम्दानी बढाउने लक्ष्य लिइएको छ।
त्यस्तै विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग, प्रशोधन तथा बजारसँग प्रत्यक्ष जोड्ने नीति अघि सारिएको छ। यसबाट कृषि उपजको मूल्य अभिवृद्धि गर्दै बजार सुनिश्चित गर्ने सरकारको योजना छ।

नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख गरिएको छ। सरकारले कृषि क्षेत्रमा युवाको सहभागिता बढाएर ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ।
सरकारको यो कार्यक्रमलाई कृषि क्षेत्रको व्यवसायीकरण, ग्रामीण अर्थतन्त्र सुदृढीकरण तथा दीर्घकालीन खाद्य सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


