
धनकुटा – उमेरले मानिसलाई शारीरिक रूपमा वृद्ध बनाउन सक्छ तर सिक्ने इच्छा र आत्मविश्वास बलियो भए उमेर कहिल्यै बाधक बन्दैन भन्ने उदाहरण धनकुटाका ६६ वर्षीय करवीर राई बनेका छन् । वि।सं। २०१७ सालमा जन्मिएका राईले ६६ वर्षको उमेरमा एसईई परीक्षा उत्तीर्ण गर्दै धेरैका लागि प्रेरणादायी उदाहरण बनेका हुन् । राईको शैक्षिक यात्रा निकै लामो,संघर्षपूर्ण र धैर्यताले भरिएको छ ।
उनले पहिलो पटक वि।सं। २०४० सालमा साविक चुङवाङ गाविस, हाल पाख्रिवास नगरपालिका–१० स्थित भारती माध्यमिक विद्यालयबाट टेस्ट परीक्षा दिएका थिए । त्यसपछि त्यतिबेलाको एसएलसी परीक्षा दिएका थिए । त्यसबेला गणित, विज्ञान र भूगोल विषयमा असफल भएपनि अरु विषयमा राम्रो अंक ल्याएर पास गरेका थिए । त्यसपछि उनको पढाइ बीचमै रोकिएको थियो ।
तर, मनभित्रको पढ्ने इच्छा भने कहिल्यै मरेन । गाउँमा निष्क्रिय बस्नुभन्दा केही नयाँ गर्ने सोचका साथ उनले पुनः अध्ययन सुरु गर्ने निर्णय गरे । राईका अनुसार उनले २०८० सालदेखि नियमित रूपमा परीक्षाको तयारी थालेका थिए । उनले धरानस्थित सगरमाथा डल्फिन कलेजबाट प्राइभेट फाराम भरेर अध्ययन अघि बढाएका हुन् । कठिन लाग्ने गणित र अंग्रेजी विषयका लागि ट्युसन पढे भने अन्य विषय स्वअध्ययनमार्फत् तयारी गरे । वि।सं। २०८० सालमा उनले पाँच विषयमा सफलता प्राप्त गरेका थिए । गतवर्ष गणित र अर्थशास्त्र विषयको परीक्षा दिएपनि अर्थशास्त्र उत्तीर्ण गरेको थिए । यस वर्ष गणित विषयमा समेत उत्तीर्ण भएपछि उनले एसईई पूरा गर्न सफल भएका हुन् ।



