
सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ४ सय ४० किलोग्राम गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार राति नियमित चेकजाँचका क्रममा को।१ च ७३५९ नम्बरको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार एम्बुलेन्सभित्र प्लास्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा ४ सय ४० किलो गाँजा फेला परेको थियो। गाँजा बरामद भएसँगै एम्बुलेन्स चालक तथा घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स धरानस्थित बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा.लि.द्वारा सञ्चालन हुँदै आएको खुलेको छ।
प्रहरीले लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार, बेचबिखन तथा सेवन कानुनअनुसार दण्डनीय अपराध भएकाले यस्ता गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी रहने जनाएको छ।


