काठमाडौँ । कोरोना भाईरस (कोभिड–१९)ले उघ्ररुप लिएको भारतमा आइबार विश्वमै धेरै कोरोनाको कारण मानविय क्षती भएको छ । त्यहाँ दैनिक संक्रमित र मृत्यु हुनेको संख्या अहिले विश्वमै सबैभन्दा धेरै रहेको छ ।
भारतमा एकैदिन ५८ हजार १०८ जना नयाँ संक्रमित फेला परेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । जुन अन्य देशको भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हो । आइतबार त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अरू देशको भन्दा बढी ९६१ रहेको छ ।
यससँगै अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको छ । ज्यान गुमाउनेको कुल संख्या ५१ हजार ४५ रहेको छ भने निको हुनेको संख्या १९ लाख १८ हजारभन्दा बढी रहेको छ । आइतबार मात्र त्यहाँ ५७ हजार ४०४ जना निको भएका छन् । अहिले ६ लाख ७८ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेको छ ।
उता कोरोनाबाट सर्वाधिक प्रभावित देश अमेरिका र त्यसपछिको ब्राजिलमा भने पछिल्लो समय दैनिक मृत्यु र संक्रमित संख्यामा कमी आउन थालेको छ । आइतबार अमेरिकामा ३६ हजार ८११ संक्रमित थपिएका छन् भने ब्राजिलमा २२ हजार ३६५ संक्रमित थपिएका छन् । ती दुवै देशमा आइतबार एक दिनमा ज्यान गुमाउनेको संख्या भने क्रमशः ५२२ र ५८२ जना रहेको छ ।
कोलम्बिया र पेरूमा पनि आइतबार क्रमशः ११ हजार ६४३ र १० हजार १४३ नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ क्रमशः २८७ तथा २०६ जनाले ज्यान गुमाएका छन् । तर दैनिक मृत्युमा भारतपछि दोस्रो नम्बरमा मेक्सिको रहेको छ । त्यहाँ आइतबार कोरोनाका कारण ६३५ जनाले ज्यान गुमाएका छन् ।