Aamsanchar

काँकडभिट्टामा दिनहुँ प्रदर्शन, नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग

Author Image
बिहिवार, पौष २, २०७७

झापा : नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ। प्रदर्शनको छैठौँ दिन बुधबार नाकामा सयौँको उपस्थितिमा धर्ना र र्‍यालीको कार्यक्रम गरिएको थियो। स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले नाका खुलाउन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान, शान्तिपूर्ण र्याली र धर्ना जस्ता कार्यक्रम गर्दै आएका छन्।

बुधबार भएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले बताए। प्रहरीले काँकडभिट्टाको सडकमा भएको धर्नालाई बल प्रयोग गरी हटाएको थियो।

आन्दोलनको अगुवाइ होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाले गरेका छन्। जसमा स्थानीयवासीकोसमेत सहभागिता रहेको छ।  कोभिड– १९ का कारण १० महिना अघिदेखि नाका बन्द हुँदा मेचीनगरको होटल लगायत समग्र व्यवसाय धरासायी भएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए।

उनले सरकारले सबै क्षेत्र खुला गरिसकेका अवस्थामा नाका बन्द गर्नु उचित नभएको बताए। यो नाका अन्तरराष्ट्रिय नाका हो”, उनले भने, भारतलगायत भूटान, बङ्गलादेशसँग प्रत्यक्ष व्यापार हुँदै आएको नाका खुला नगर्दा हजारौको रोजीरोटी खोसिएर भोकै बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ। प्रदेश नं १ का सांसद श्रीप्रसाद मैनालीलेसमेत सामाजिक सञ्जालमा सरकारले तत्काल नाका खुलाएर सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर