दमक। चीनको लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माणकाक्रममा स्थानीयवासीलाई अन्याय गरिएको भन्दै लिम्बुवानले मंगलबार वृहत् विरोध र्याली र सभा गरेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको घटक संघीय लिम्बुवान मञ्च, नेपालले दमकमा ¥याली सहितको विरोधसभा सम्पन्न गरेको हो । वृहत् लिम्बूवान तथा क्लिन पार्क सरोकार सभा नाम दिइएको विरोध कार्यक्रममा लिम्बुवान कार्यकर्ता तथा स्थानीय गरी करिव पाँच हजार संख्यामा सहभागिता थियो । आफ्ना मागसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेका सहभागीको र्यालीले पीडितलाई न्याय दिलाउन माग गर्दै चर्का नाराबाजीसहित दमक बजार परिक्रमा गरेका थिए ।

र्यालीपछि गणतन्त्रचोकमा सभा गरिएको थियो । संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन मिराकका अनुसार दमकमा बन्न लागेको अर्बौको क्लिन पार्कले यहाँका आदिवासी जनजातिको जल, जमिन र जंगलमाथिको आईएलओ १६९ले दिएको अग्राधिकारलाई वेवास्ता गरिएको छ । उनले भने– त्यस क्षेत्रमा भएका हजारौं हेक्टर जमिनलाई न्यूनतम् मूल्य कायम गरी वर्तमान सरकारको निर्देशनमा जनतालाई सुकुम्बासी बनाउने र केही व्यक्ति रातारात अर्बपति हुने षड्यन्त्रबिरुद्ध मञ्चले बिरोधसभा आयोजना गरेको हो । ‘मुआब्जाको नाममा पार्क बनाउन सोझा–साझा स्थानीय जनतामाथि ठगी भएको छ, सीमित व्यक्ति मोजमा छन्, त्यसकारण चीनको लगानी खेर जान्छ’– लिम्बुवान नेताहरुको भनाइ थियो । आफूहरु विकास विरोधी नभए पनि पीडितले उचित क्षतिपूर्ति नपाए त्यस सम्वन्धी काम हुन नदिने लिम्बुवान नेताहरुले बताए ।

चिनियाँ लगानी भित्र्याउन स्थानीय सबै राजनीतिक दलका प्रतिनिधि, जनप्रनितिनिधि, स्थानीय बासिन्दालगायतलाई समेटेर छलफल गरी सवैको सहमतिमा लगानीको वातावरण निर्माण गर्न आव्हान गरिए पनि त्यसो नभई सीमित दलको सेण्डिकेटबाट सोझा गरीब नागरिकलाई उठिबास लगाउने काम भएको लिम्बूवान नेताहरुले बताए । ¥यालीमा सहभागीले प्लेकार्डसहित क्लिनपार्क पीडितको आवाज सुनुवाइ गर, क्लिनपार्क पीडितलाई न्यायोचित मुआब्जा वितरण गर, क्लिनपार्कको वास्तविकता सार्वजनिक गर जस्ता नारा लगाएका थिए । पार्क निर्माणको काम अपारदर्शी भएको र जनतालाई गुमराहमा राखिएको बताइएको छ ।

क्लिनपार्क सञ्चालनमा सर्वदलीय समिति गठन गर्नुपर्ने, जग्गाधनीहरुसँग वार्ता गरी क्षतिपूर्तिको समस्या समाधान हुनुपर्ने, क्लिनपार्कमा के निर्माण हुन आँटेको हो, त्यसबारे स्वेत पत्र जारी गर्नुपर्ने लगायतका माग लिम्बुवानले अघि सारेको छ । नेकपा सरकारले विकासको नाममा संघीयताको मर्म विपरीत, भौगोलिक विविधतालाई वेवास्ता गर्दै आदिवासी जनजातिहरुले संरक्षण गर्दै आएका प्राकृतिक सुन्दरताको दोहन गर्ने प्रयासहरु दिनदिनै हुन थालेकोमा मञ्चले विगतदेखि नै आपत्ती जनाउँदै आइरहेको बताइयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्ष नेपालमाथिको आक्रमण बन्द गर्नुपर्ने, लिम्बुवान लगायत पहिचानको आधारमा १०ं१ प्रान्तहरु र विशेष स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने लगायतका १५ बुँदे माग लिम्बुवानले अघि सारेको छ । सभामा केन्द्रीय अध्यक्ष लिङ्देन, उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, ज्ञानबहादुर गुरुङ, महासचिव शान्ता योङहाङ, झापा इञ्चार्ज भानु भट्टराई, महिला अध्यक्ष इन्दिरा मेन्याङ्वो, संघीय दलित सिल्पी मञ्चका बलराम ऋषिदेव, एलवी प्रवक्ता राजु राई, पहिचानवादी नेता साजन याख्या, अमर इजम, विद्यार्थी नेता मोहन मावो, पार्टीका जिल्ला अध्यक्ष धनबहादुर पन्धाकले स्वागत गरेको सभाको सञ्चालन सचिवालय सदस्य विष्णु भट्टराईले गरेकी थिइन् ।

चीन सरकारले औद्योगिक पार्क निर्माणका लागि कूल ६५ अर्ब लगानी गर्ने गरी सम्झौता भएको छ । दमक, गौरादह नगरपालिका र कमल गाउँपालिकाको कूल २१ सय बिगाह क्षेत्रमा वातावरणमैत्री औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ । पार्कलाई दक्षिण एशियाकै ठूलो भनिएको छ । उक्त कार्य गर्दा सबै सरोकारवालाहरूसँग बसेर सबैका गुनासा सुनेपछि उचित सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाइए पनि त्यसो नभएको जनाइएको छ । दमक क्लिन इण्डष्ट्रियल पार्क प्रालिको नामबाट प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा करिब २१ सय बिगाह जग्गामा पार्क बन्न लागेको हो ।
भिडियो पनि हेर्नुहोस् ।
Views: 32

