Aamsanchar

४४६ मजदुर विस्थापित,कहा गए होलान् ?

Author Image
बिहिवार, असोज २०, २०७३

इलाम, २० असोज । महँगी बढे पनि त्यसअनुसार ज्याला वृद्धि नभएपछि जिल्लाका चिया बगानमा कार्यरत मजदुर पलायन हुन थालेका छन् ।

बगान व्यवस्थापन पक्षबाट उचित ज्याला र सेवा सुविधा नपाएपछि मजदुर पलायन हुने क्रम बढिरहेको छ । पहिले तोकिएको ज्याला नपाएपछि यहाँका चारवटा चिया बगान र कारखानाबाट ४४६ मजदुर विस्थापित भएका छन् ।

सरकारी स्वामित्वमा रहेका सोक्तिम, चिलिमकोट, इलाम र कन्याममा कार्यरत मजदुर पलायन हुने क्रम बढेको हो । विसं २०५७ मा चिया बगान निजीकरण हुँदा जिल्लाका चारवटा बगान र कारखानामा ८५८ मजदुर कार्यरत रहेकोमा हाल आएर आधाभन्दा बढीले काम छाडिसकेका छन् ।

चिया बगान तथा कारखाना निजीकरणसँगै मजदुरको दैनिक ज्याला, बिदा र सेवा सुविधा कटौती हुँदै गएपछि परिवार पाल्न समस्या परेकाले मजदुर पलायन भएको स्थानीय डिल्लीसिंह बुढाथोकी बताउनुहुन्छ । चार सय ७३ स्थायी मजदुर रहेको देशकै ठूलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा २०७ जना, १६५ जना स्थायी मजदुर कार्यरत इलाम चिया बगानमा ८५ जना, ९५ जना स्थायी मजदुर रहेको सोक्तिम चिया बगानमा ६० र १२५ जना मजदुर रहेको चिलिमकोट चिया बगानमा ७० जना मात्र मजदुर रहेका छन् ।

चिया बगान व्यवस्थापन पक्षले मजदुरको सेवा सुविधा कटौती गरेका कारण विस्थापित हुनुपरेको मजदुरको गुनासो छ । सेवा सुविधा नपाएपछि कन्याम चिया बगानमा काम गर्दै आएका ४५ मजदुर एकैचोटी विस्थापित भएका बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)