Aamsanchar

बास्तोलाको शंकास्पद मृत्यु, अनुसन्धान प्रति मृतक परिवारको नजरमा प्रहरी नै शंकाको घेरामा

Author Image
मङ्गलवार, माघ ६, २०७७

स्व. प्रविण बास्तोला ।

उर्लाबारी । एक महिना अघि मृत भेटिएका उर्लाबारीका एक व्यक्तिको परिवारले किटानी जाहेरी दिंदापनि प्रहरीले छानबिनमा तादरुकता नदेखाएको मृतकका परिवारले आरोप लगाएका छन् ।

उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोला गत पुष ५ गते शंकास्पद अवस्थामा मृत भेटिएका थिए । साथीहरुको डेरामा गएका व्यक्ति मृत भेटिएका र उनीसंगै रहेका ४ जना साथीहरुको भूमिका शंकास्पद देखिएको परिवारका सदस्यकहरुको बुझाई छ ।

बास्तोला परिवारले घटना भवितव्य नभइ हत्या नै भएको जनाएका छन् । घटनामा संलग्न भनिएका उर्लाबारी–६ बस्ने रिकेस सिवा भनिने राकेश दर्जी, दिपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली पक्राउ परेपनि केहिदिन पछि नै थुनामुक्त भएका छन् । उनीहरुलाई मुद्धा चलाएर अदालती प्रकृयाबाट न्याय निरुपण गर्नुपर्नेमा त्यतिकै छोडिदिएको भन्दै मृतक परिवारले उर्लाबारी प्रहरी शंकाको घेरामा परेको बताएका छन् ।

घटनाको बारेमा जानकारी माग्दा पीडित पक्षलाई प्रहरी निरीक्षक उद्धव पोखरेलले उल्टै थर्काउने गरेको मृतककी बहिनी दुर्गा बास्तोलले बताइन् ।

कसैको फोन आएर दिउसो २ः५५ बजे घरबाट उर्लाबारी चौक पूर्व गएको त्यसपछि आफ्नो छोरा सदाका लागि बिदा भएको मृतकका बुवा प्रेम बास्तोलाको भनाई छ । उनका अनुसार साथीहरु संगै बसेर मादक पदार्थ सेवन गरेको भनिएपनि परिवारलाई मृत्युको जानकारी नदिई शव अस्पताल पुर्याएका थिए । १२ घण्टापछि मात्रै परिवारले घटनाबारे जानकारी पाउनु, स्थानीय गोदावरी अस्पतालमा मृतकको शव हुँदाहुदै मावा खोलामा लास छ भनेर ढाट्नेजस्ता कार्य भएकोले घटना शंकास्पद रहेको बुझाइ बास्तोला परिवारको छ ।

उनीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेका छन् । प्रहरीले आफन्त र स्थानीयलाई जानकारी नै नदिएर नियन्त्रणमा लिइएका आरोपितलाई छाडिसकेको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपनि मृत्युको कारण सामान्य भनेर प्रहरीले घटनालाई ढिसमिस गराएको पीडित परिवारको दाबी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर