Aamsanchar

झापामा अझै रोकिएन जंगली हात्तीको उपद्रो, दुई दिनको अवधिमा बाह्रदशीमा पाँचवटा घर भत्कायो

Author Image
आइतवार, माघ ११, २०७७

झापा- जंगली हात्तीको उपद्रो झापामा अझै रोकिएको छैन। दिनहुँ जंगल आसपासका बस्तीमा निस्किएर हात्तीले भौतिक संरचना भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयमा त्रास फैलिएको छ। हात्तीले दुई दिनको अवधिमा बाह्रदशीमा पाँचवटा घर भत्काएको छ। आइतबार बिहान बाह्रदशी गाउँपालिका १ बस्ने काण्डारु राजवंशी र हेमनारायण राजवंशीको घरमा क्षति पुगेको छ। हात्तीले बाँसको टाटी र टिनले बनाएको काण्डारुको घर भत्काएको छ भने हेमनारायणको भान्सा घर भत्काएको छ। साथै रामचन्द्र कामतीको खेतमा राखिएको धान नष्ट गरी दिएको छ।

त्यस्तै, शनिबार बिहान दुई वटा हात्तीले मंगलु राजवंशी, कर्वली राजवंशी र भूपेन्द्र राजवंशीको घर भत्काएको छ। मंगलु र कर्वलीको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। उनीहरूको परिवार विस्थापित भएको बाह्रदशी १ नम्बर वडा अध्यक्ष शम्भुसिंह राजवंशीले जानकारी दिए। उनीहरूलाई सबैको सरसहयोगमा अन्यत्र बस्ने व्यवस्था मिलाइएको उनले बताए। त्यस्तै, हात्तीले भुपेन्द्रको भकारी भत्काउँदा करिब २० मन धान नोक्सानी गरेको छ। नजिकै रहेको जलथलको चारकोशे जंगलबाट आउने हात्ती दिनहुँ बस्तीमा आउने गरेको छ।

आहारको खोजीमा बिहान नै आउने गरेको हात्तीले बाह्रदशी १, २ र ३ मा लगातार क्षति गर्दै आएको वडा अध्यक्ष राजवंशीको भनाइ छ। चारकोशे जंगलमा हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार जडान गरिए पनि त्यो प्रभावकारी नभएको उनले बताए।

‘विद्युतीय तारबार ठाउँ-ठाउँमा हात्तीले भत्काइसकेको छु उनले भने, खोला र खोल्साको मुनिबाट पनि हात्ती जंगलबाट निस्किएर बस्तीमा आउँछ, यसलाई नियन्त्रण गर्न विद्युतीय तारबारलाई व्यवस्थित गर्नुपर्छ। खेतबारीमा आहार सकिएपछि अहिले हात्ती आहारको खोजीमा विपन्‍नका घरलाई निशाना बनाएकाले समस्या जटिल बन्यो, उनले भने। ‘डिभिजन वन कार्यालय झापाबाट समयमा क्षतिपूर्ति नपाउँदा ती परिवार थप पीडाबाट गुज्रिनु परेको उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर