बझाङ-बझाङमा खुँडा प्रहार गरी युवकको हत्या भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिएका छन्।
छबिसपाथिभेरा गाउँपालिका-३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको हो। खुँडा प्रहार गर्नेमध्ये सोही गाउँपालिका वडा नम्बर २ का वर्ष ३२ का ज्ञानबहादुर कडायतलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ। हत्यामा संलग्न प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरिएको र शव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ। शवको पोष्टमार्टम भने अहिलेसम्म नभएको र फरार व्यक्तिको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ। यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ।