बिर्तामोड- फुटबलर अनन्त तामाङ र उसुकी जुनी राई शुक्रबार बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको चौथो झापा स्पोर्टस् अवार्डमा अनन्त र जुनी बर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुलाई २०७६ सालमा गरेको उपलब्धिका आधारमा सचित आनन्द सुब्बाको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले बर्ष उत्कृष्ट खेलाडीका रुपमा सिफारिस गरेको थियो । फुटबलका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गरेका छन् । उनले मनोनयनमा परेका फुटबलरद्वय छिरिङ गुरुङ र सेसेहाङ आङदाम्बेलाई पछि पारेका हुन् ।
अवार्डको महिलातर्फ उत्कृष्ट बर्ष खेलाडी घोषित हुदै इलामकी जुनी राईले एक थान स्कुटर प्राप्त गरिन । उनले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारिन । यस्तै बर्ष उत्कृष्ट खेलाडी(युवा) तर्फ फुटबलका रेजिन सुब्बा घोषित भए । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका रेजिनले मनोनयनमा परेका कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारेका हुन् ।
त्यस्तै बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेतीले जिते । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका उप्रेतीले मनोनयनमा परेका फुटबलका प्रवेश कटुवाल र पौडीका ओङदेन लामालाई पछि पारे । यस्तै पिपल्स च्वाइज अवार्ड महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापोले जितिन । उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन डम्बर कुवरलाई प्रदान गरियो । उनले नगद ३५ हजार र अवार्ड प्राप्त गरे ।
त्यस्तैगरी खेलकुद क्षेत्रमा विशेष योगदान गरेका बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारिरीक सुगठनका राम दाहाललाई ‘स्पेशल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनीहरुले जनही नगद २५ हजार र अवार्ड प्राप्त गरेका थिए । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा विगत चार बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।