शरणार्थीलाई भुटान फर्काउन नसक्ने अभिव्यक्ति बेला बेलामा भुटानी अधिकारीबाट सार्वजनिक हुने गरेकाले पनि उनीहरुको स्वदेश फिर्तीको माग जटिल बनेको नेपाली अधिकारीहरुको बुझाइ छ।
तेस्रो देश पुनर्स्थापना कार्यक्रम अन्तर्गत अहिलेसम्म अमेरिका, क्यानाडा, ब्रिटेन, नेदरल्याण्डस्, नर्वे, डेनमार्क, अस्ट्रेलिया र न्युजिल्याण्डमा गरि १ लाख भन्दा बढी शरणार्थीहरु पुनर्स्थापित भएका छन्।
शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय युएनएचसीआरको अनुमानमा तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम सकिएपछि करीब १० हजार भुटानी शरणार्थी शिविरहरुमा रहनेछन्।
तिनै शरणार्थीहरुलाई फर्काउनका लागि भुटानले कुनै चासो नदेखाएकाले उक्त समस्या झन् पेचिलो बन्दै गएको छ ।
शरणार्थी मामिला हेरिरहेको गृह मन्त्रालयको स्थानीय प्रशासन शाखाका उपसचिव कोशहरि निरौलाले भने, “दातृ संस्थाहरुले अब के गर्ने भन्न विषयमा छलफल चलाइराख्नु भएको छ। अशक्त अपांगहरुका लागि कसरी व्यवस्था गर्ने भन्ने विषयमा सोचिरहनु भएको छ। हामी प्रयासरत छौं।”
बेला बेला भुटानी अधिकारीहरुले शरणार्थीलाई भुटान फर्काउने कुरामा असहमति जनाएका समाचार सार्वजनिक हुँदै आएका छन्।
उक्त विषय राजनीतिक भएकाले राजनीतिक रुपमै सामाधान हुनुपर्ने निरौलाले बताए।
उनले भने, “भूराजनीतिक अवस्थालाई पनि विचार गर्नुपर्ने हुन्छ, हतार गरेर गर्ने विषय पनि होइन। यो राजनीतिक विषय पनि हो।”
तर शिविरमा रहेका भुटानी शरणार्थीहरुले सम्मानपूर्वक भुटान फिर्तीको मागकै अडान लिएर तेस्रो मुलुक पुनर्स्थापनामा नगएको बेल्डाँगी शिविरका सचिव सन्चहाङ सुब्बाले बताए।
सुब्बाले भने, “शिविरमा रहनेहरुले सम्मानजनक स्वदेश फिर्ती नै खोजेका छन् । उनीहरु त्यही अडानमा बसेका छन्।”
वीवीसीका अनुसार युएनएचसीआरको अनुमानमा २ हजार भुटानी शरणार्थी भुटान फर्कन चाहन्छन् र बाँकी नेपालमै बस्न रुचाउने अनुमान युएनएचसीआरको छ।
युएनएचसीआरका नेपाल प्रतिनिधि केभिन एलनले भने, “करीब १० हजारको संख्यामा रहने शरणार्थीमा हामीलाई लाग्छ सानो संख्या करिब २ हजार शरणार्थी भुटान जान चाहन्छन् र करिब ८ हजार शरणार्थी नेपालमै बस्न। उक्त समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार, भुटानी शरणार्थी र नेपाली समुदायसंगको सहकार्य आवश्यक हुन्छ।”
युएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी १२ हजार ६१४ भुटानी शरणार्थी रहेका छन्।