Aamsanchar

किर्ते गरी नेपाली नागरिकता लिने एकै परिवारका ६ भारतीयलाई कैद र जरिवानाको फैसला

Author Image
बुधवार, चैत ११, २०७७

सप्तरी – किर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत, बिहारको मधुवनी जिल्लास्थित दक्षिण थाना, घोघडिहाका ७० वर्षीय गंगाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

जिल्ला न्यायाधीश रीता बखे्रलको इजलासले गंगाधरलाई तीन वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, उनका छोरा कमलदेव र अमरेन्द्रलाई दुई/दुई वर्ष कैद र १०/१० हजार जरिवाना, बुहारी गुलावदेवी र ममतादेवी तथा नाति विवेकानन्दलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ की बिल्टीदेवी यादवको जग्गाधनी पुर्जामा उनको नाममा जारी भएको नागरिकता नम्बर ७१०२२६१४ नै गंगाधरको नागरिकतामा पनि उल्लेख भएको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कपलेश्वरकी श्रीमती बिल्टीदेवी गंगाधरकै सासू हुन् । सामाजिक परम्परानुसार ५० वर्षअघि सुभद्रादेवीसँग पहिलो विवाह गरेका गंगाधरले भारतीय महिलासँग दोस्रो विवाह गरी भारतमा बसोबास गर्दै आएका छन् । सुभद्रादेवी भने डाक्नेश्रीस्थित माइत बस्ने गर्छिन् ।

सासूको नागरिकता नम्बर किर्ते गरी आफ्नो बनाएका गंगाधरले मतदाता नामावली परिचयपत्रसमेत बनाई मतदान गर्दै आएका छन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गंगाधरकै किर्ते नागरिकताका आधारमा उनका छोरा, बुहारी र नातिले समेत वंशजको नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर