ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेनमा गाउँपालिका ३ मा आगलागी भएको छ । आगलागीबाट हरिप्रसाद पोखरेलको घर जलेर नष्ट भएको छ । घर नजिकै रहेको बारीमा पातपतिङ्गर जलाउन लगाएको आगो गोठमा सल्किएर फैलिँदा घरमा आगलागी भएको हो ।
झण्डै चाररपाँच सय मिटरपरको आगो फैलिँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै आगो निभाउने क्रममा हरिप्रसादका छोरा २३ वर्षीय तिलप्रसाद पोखरेल घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीका कारण फुङलिङ नगरपालिका ३ मेदिबुङमा दुई घर जलेका छन् । आगलागीका कारण मेदिबुङका भीमप्रसाद घिमिरेको घर जलेर नष्ट भएको छ । उहाँका छिमेकी चन्द्रमाया रम्तेलको दुई घरमध्ये एक घर जलेको छ । आगो अझै नियन्त्रणमा नआएको घिमिरेले बताउनुभयो ।