Aamsanchar

संखुवासभामा ब्लड बैंक स्थापनाका लागि ६ लाख ९२ हजार हस्तान्तरण

Author Image
शनिवार, चैत १४, २०७७

संखुवासभा : संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन्। तर‚ ब्लड बैंक स्थापना हुन सकेको छैन। ब्लड बैंक स्थापना गर्न अहिले विभिन्न संघ संस्थाले सहयोग गरिहेका छन्। सदरमुकाम खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंकलाई संखुवासभा समाज युकेले आर्थिक सहयोग गरेको छ। पूर्व गोर्खा सैनिकहरु रहेको संखुवासभा समाज युकेले नेपाल रेडक्रस सिर्जनशील सामुदायिक रक्त सञ्चार सेवालाई ६ लाख ९२ हजार रुपैयाँको चेक हस्तान्तरणगरेको हो।

समाजका रमेश राईले ब्लड बैंक स्थापनामा सकृय संस्था सिर्जनशील सामुदायिक विकास केन्द्रका अध्यक्ष राधादेवी बस्नेत र रेडक्रस सोसाइटी संखुवासभाका अध्यक्ष सरोज बज्राचार्यलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। ब्लड बैंक स्थापना गर्न केन्द्रले विभिन्न अभियान सञ्चालन गरेर रकम संकलन गरिरहेको केन्द्रका अध्यक्ष बस्नेत बताइन्। ब्लड बैंक स्थापनाका लागि हालसम्म २३ लाख ४७ हजार २५४ रुपैयाँ रकम संकलन भइसकेको उनले जानकारी दिइन्।

नेपाल रेडक्रस सोसाइटीले २०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भए पनि यहाँ ब्लड ग्रुप छुट्याउने  काम मात्र हुने गरेको छ। बिरामीलाई रगत आवश्यक परे आफन्तले रगत खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ। गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ। गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन्।

बिरामीलाई तत्कालै रगत चाहियो भने अहिले सेना र प्रहरीले रगत दिने गरेका छन्। जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि ब्लड बैंक नभएपछि लाखौं खचै गरेर अन्यत्रै लैजानु पर्ने बाध्यता रहेको नेपाल रेडक्रस सोसाइटीको कार्यालय प्रमुख लक्ष्मी कार्कीले बताइन्। ‘अहिले हाम्रो ब्लड बैंक भनेको सेना र प्रहरी हो‚’ प्रमुख कार्कीले भनिन्‚ ‘तर सेना र प्रहरी पनि भनेको समयमा उपस्थित हुन नसक्दा समस्या हुने गरेको छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर