Aamsanchar

रातको समयमा मोरङका एक दम्पतीको हात्तीसँग जम्काभेट : श्रीमानको ज्यान लियो, श्रीमती भागेर बाँचिन्

Author Image
मङ्गलवार, चैत १७, २०७७

विराटनगर –  मोरङको मिक्लाजुङमा जंगली हात्तीको आक्रमणबाट अपांगता भएका एक पुरुषको ज्यान गएको छ। गाउँमा निस्किएको हात्तीले आक्रमण गर्दा मिक्लाजुङ गाउँपालिका–६ थामीझोडाका ४९ वर्षीय यामबहादुर बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

मृतक बोहोरा कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गता भएका व्यक्ति हुन्। छिमेकी मनबहादुर मगरको घरमा टिभी हेरेर श्रीमती सावित्रा कार्कीसहित आफ्नो घरतर्फ फर्कने क्रममा उनलाई राति १० बजेतिर हात्तीले आक्रमण गरेर घाइते बनाएको खुलेको देवले बताए। उनका अनुसार उपचारका लागि मधुमल्लातर्फ ल्याउँदै गर्दा बाटैमा बोहोराको राति ११ बजेतिर मृत्यु भएको हो। श्रीमानलाई हात्तीले लछारेर आक्रमण गर्न थालेपछि आत्तिएकी श्रीमती सावित्रा भने भागेर बाँच्न सफल भएको बताए।

सावित्रा पनि कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गता भएकी महिला हुन्। बोल्न र सुन्न नसक्ने अवस्थाका श्रीमान श्रीमती अरुसँग इसाराले मात्रै दोहोरो संवाद एवं कुराकानी गर्न सक्थे। रातको समयमा एक्कासि हात्तीसँग जम्काभेट भएपछि सावित्रा भने भागेर बाँच्न सफल भएकी हुन्।

आत्तिएर र तर्सिएर छिमेकीको शरणमा पुगेकी उनले गाउँ पसेको जंगली हात्तीले श्रीमानलाई लछारेर आक्रमण गरेको जानकारी गराएकी थिइन्। स्थानीय बासिन्दाले होहल्ला गर्न थालेपछि हात्ती जङ्गलतर्फ भागेको थियो। मृतकका २७ र २२ वर्षीय छोराहरु छन्। दुवै जना अविवाहित हुन्।

जेठो छोरा वैदेशिक रोजगारीमा छन्। कान्छो बाबुआमासँग घरमै बस्थे। पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण जीविका चलाउन बोहोरा परिवारले खेतिकिसानी र ज्याला मजदुरी गर्नु पर्ने अवस्था रहेको स्थानीय बासिन्दाले बताए।

देवका अनुसार मृतकको छात्ती, पिठ्यूँ लगायत शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोट एवं दागहरु भेटिएका छन्। शव पोस्टमार्टमका लागि उर्लाबारीकै मंगलबारे अस्पताल लगेर प्रहरीले घटनाको अनुसन्धान थालेको छ। घटनास्थलमा हात्तीको पाइलाका डोबहरु भेटिएका छन्। घटनापछि हात्ती कतातिर लाग्यो भन्ने यकिन हुन नसकेको र पाइलाको डोब हेर्दा उत्तरतर्फ गएजस्तो देखिने मृतकका दाजु ठन्डबहादुर बोहोराले बताए। उनका अनुसार हात्तीले अरु कुनै क्षति गरेको पाइएन।

प्रहरीले दुईरतीनवटा हात्ती गाउँ पसेर घटना गराएको जनाए पनि स्थानीय बासिन्दाले भने घटनास्थलमा एउटा मात्रै हात्ती देखेको बताएका छन्। ठन्डबहादुरका अनुसार यसअघि पनि पटक–पटक गाउँ पसेर जंगली हात्तीले वितण्डा मच्चाए दुःख दिँदै आएको थियो। हात्तीका बथान नै जंगलबाट गाउँ पसेर सर्वसाधारणको घर भत्काइदिने, बालीनाली खाइदिने र घरमा भएका अन्न खाइदिएर क्षति पुर्‍याउने तथा आतंक मच्चाउने गर्दै आए पनि नियन्त्रणमा कसैले चासो नदिएको उनको गुनासो छ। तर अहिले भने मानवीय क्षति नै हुने गरीको घटना गराएको ठन्डबहादुरले बताए। उनका अनुसार घटनापछि स्थानीय बासिन्दा त्रसित एवं आतंकित बनेका छन्।

स्थानीयले बारम्बार जंगली हात्ती नियन्त्रणको माग राखे पनि कसैले वास्ता नगर्दा मानवीय क्षति बेहोर्नु परेको गुनासो गरेका छन्।‘जङ्गली हात्तीले बारम्बार सर्वसाधारणलाई दुःख दिइरहेको छ। बालीनाली खाएर सखाप बनाउनेदेखि लिएर घर भत्काइदिनेसम्मका हानीनोक्सानी गरिरहँदा हामी असुरक्षित महसुस गरेर बसिरहेका थियौँ,’ ठन्डबहादुर भन्छन्, ‘तर नियन्त्रणका लागि कोही कसैले पनि चासो दिएनन्। हामी वर्षौंदेखि हात्तीबाट प्रभावित एवं पीडित भइरहँदा सरोकारवाला निकाय रमिते बनेका छन्।’ विगतदेखि नै हात्ती पीडित बनेर बसिरहेको अवस्थामा पछिल्लो समय भने परिवारका सदस्य नै गुमाउनु परेको उनको गुनासो छ। उनका अनुसार गाउँ नजिकै जंगल छ। प्राय वरपरकै जंगलबाट गाउँ पसेर हात्तीले दुःख दिने ठन्डबहादुरको भनाइ छ।

वडाध्यक्ष बुद्धि निरौलाले हात्ती नियन्त्रणका लागि सरकारी तवरबाट कुनै पनि प्रयास नभएको र गर्न नसकिएको स्वीकार गरे। ‘जंगली हात्तीले गाउँ पसेर सर्वसाधारणलाई धेरै दुःख दिइरहेको यथार्थ हो। पछिल्लो पटक मानवीय क्षति नै गरायो,’ उनले भने, ‘तर हात्ती आतंक नियन्त्रण गर्न दीर्घकालीन रुपमा योजना बनाएर केही गर्न सकिएको छैन। अब भने केही सोच्नुपर्ने अवस्था आयो।’

निरौलाका अनुसार गाउँ पसेर आतंक मच्चाउन थालेपछि हात्तीलाई जंगलतर्फ नै खेदाउन पटका पड्काउने, साइरन बजाउने, थाल तथा भाँडावर्तन बजाउने, पुल्ठो बालेर सबैतिर उज्यालो पार्नेबाहेक नियन्त्रणका लागि केही पनि गर्न सकिएको छैन। स्थानीय बासिन्दाले विभिन्न उपाय लगाउँदै होहल्ला गर्न थालेपछि हात्ती जंगलतर्फ भाग्ने र केही समयपछि फेरि फर्किएर आउँदै दुःख दिने गरेको उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर