Aamsanchar

मापसे गरेका १२ जनाको समूहले आक्रमण गर्दा मोरङमा तामाङको ज्यान गयो

Author Image
बुधवार, चैत १८, २०७७

विराटनगर- मोरङको पथरीशनिश्चरे नगरपालिका–८ गुराँस चोकमा मादक पदार्थ सेवन (मापसे) गरेको समूहको आक्रमणमा परेर एक पुरुषको मृत्यु भएको छ। १२ जनाको समूहले आक्रमण गर्दा पथरीशनिश्चरे–८ का ४९ वर्षीय खड्गबहादुर तामाङको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार तामाङमाथि चैत ८ गते बिहानका राति १ बजेतिर आक्रमण भएको थियो। बाँसको भाटा, लात्ता र मुक्का प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। उपचारपछि अस्पतालले डिस्चार्ज दिएर चैत १५ गते आइतबार घर पठाएको थियो। तर स्वास्थ्य अवस्था असामान्य बन्दै गएपछि थप उपचारका लागि लैजान नपाउँदै तामाङको घरमै मंगलबार दिउँसो मृत्यु भएको जानकारी डीएसपी राईले दिए। उनका अनुसार मापसे गरेका कारण उत्पन्न विवाद हत्या गर्ने गरीको आक्रमणको घटनामा परिणत भएको पाइएको छ।

घटनामा संलग्न १२ जनामध्ये छ जना पक्राउ परेका छन्। अरु फरार छन्। राईका अनुसार घटनामा संलग्न सन्दीप शेर्मा, रोमन मगर, सीमर लिम्बू, विशाल तामाङ, सचिन शेर्मा र सुगम लावती पक्राउ परेका छन्। सुशील राई, विवेक अधिकारी, पारस बुढाथोकी, सञ्जीव तामाङ, डिगबहादुर खड्का र शुक्रराज लिम्बू फरार रहेको र खोजी जारी राखिएको जानकारी उनले दिए।

आक्रमणमा संलग्नविरुद्ध प्रहरीले यसअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो। तर अहिले कुटपिट गरिएका व्यक्तिको मृत्यु नै भइसकेका कारण घटनामा संलग्नविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाउन आवश्यक प्रक्रिया थालिसकेको डीएसपी राईले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर