हरेक वर्ष अप्रिल एक तारिखको दिनमा अरूलाई मुर्ख बनाउने गरेर रमाइलो गरिन्छ। यस दिन आफ्ना शत्रुबाट मात्र होइन आफ्नै मित्रहरूबाट पनि होसियार रहनुपर्छ। मुर्ख दिवसलाई “अप्रिल फूल” अर्थात ‘फुलिस डे’ को नामले पनि चिनिन्छ। अप्रिल एक को यो दिवस लगभग विश्वभरी नै मुर्ख दिवसका रूपमा मनाइने गरिन्छ। हरेक देशमा आ–आफ्नो ढंगले यो दिवस मनाइए पनि हरेक व्यक्तिको उद्देश्य चाहिँ रमाइलो गर्नु नै हुन्छ। मानिस एक सामाजिक प्राणी हो। उसलाई विभिन्न मनोरञ्जनका कार्य आवश्यक पर्छ। यस्ता किसिमका दिवस या पर्वहरूले मानिसलाई आमोदप्रमोद प्राप्त गर्न मद्दत मिल्छ। यस्तै थुप्रै संसारभरिका विभिन्न जातजाति, धर्म, भेषभूषा, चलनचल्ती र भाषाभाषीहरूको आ–आफ्नो मौलिक संस्कृति पनि हो। यस्ता किसिमका परम्पराहरूलाई सम्बद्र्धन तथा जगेर्ना गर्नु सम्पूर्ण मानवहरूको परम कर्तव्य पनि हो। यसै कारणले होला आज पृथ्वीका विभिन्न कुनाकुनामा आ–आफ्ना मौलिक संस्कृति लुकेर बसेका छन्। यस्ता किसिमका संस्कृतिलाई उजागर गरी सम्पूर्ण मानवलाई सभ्य तथा सफल नागरिक बनाउन यिनै कुराहरूले मद्दत पुर्याउने हुन्छ।
मुर्ख दिवसको प्रारम्भ कहिले र कसरी भयो ? यस बारेमा विभिन्न विचार सुनिन्छन्। प्रायः मानिसको धारणा मुर्ख दिवसको जन्म स्थान फ्रान्स हो भन्ने रहेको छ। यसबारेमा फ्रान्सको एक लोककथामा प्रामाणिक तथ्य फेला नपरे पनि जनश्रुतिलाई दृष्टिगत गर्दा तत्कालीन फ्रान्सका राजा चाल्र्स नवौंले सन् १५८२ देखि अप्रिल महिनाको पहिलो तारिखलाई अप्रिल फुल अर्थात एकले अर्कोलाई मुर्ख बन्ने र बनाउने कार्यको थालनी भएकोसुन्नमा आएको पाइन्छ। त्यतिबेला सम्राटले ग्रिगेरीयन क्यालेण्डर अनुसार नयाँ वर्ष मार्च २५ तारिखका दिन सुरु हुने कुराको घोषणा गरेका थिए। त्यसभन्दा पहिलो अप्रिल १ तारिखका दिन नयाँ वर्ष सुरु हुने परम्परा रहँदै आएको थियो। उनले यसै दिनदेखि नयाँ क्यालेन्डरलाई अपनाउने आदेश पनि दिएका थिए। नयाँ क्यालेण्डरमा आजको जस्तै जनवरी एकलाई वर्षको प्रथम दिन मानिन्थ्यो। कतिपय मानिसले त्यस प्रकारको नयाँ क्यालेन्डरलाई अपनाए तर केही यस्ता मानिस थिए जसले त्यो नयाँ क्यालेन्डरलाई अस्वीकार पनि गरे।
यस्ता मानिसलाई मुर्ख ठानेर नयाँ क्यालेन्डर अपनाउने मानिसले पहिलो अप्रिलको दिन विचित्रको ठठ्ठा, उपहास एवं हाँसो गर्दै झुटो उपहार पनि दिन सुरु गरे। त्यसै बेलादेखि नै मानिसहरूले अप्रिल एक तारिखलाई मुर्खहरूको दिन वा “फुल्स डे” को रूपमा मनाउन लागे। अप्रिल एक तारिखका दिनमा आफ्ना छिमेकी साथी, दाजुभाइहरूसँग बडो बिचित्र प्रकारको ठठ्ठा हाँसो मात्र होइन मुर्खतापूर्ण र झुक्याउने कार्य समेत गरिन्छ। सोह्रौं शताब्दीमा यो दिवस पर्वको रूपमा मनाउन थालियो। यस दिनमा प्रत्येक घरमा एक दिनका लागि मालिक र नोकरको पद साटा–साट गरिन्थ्यो। त्यस दिन मालिकले नोकरको सबै काम गर्नुपथ्र्यो र नोकरले मालिक झैं हुकुम चलाई बस्नुपथ्र्यो। उक्त दिन मालिकको धेरै पैसा खर्च हुने गर्दथ्यो। सत्रौं शताब्दीको प्रारम्भमा कयौं देशमा पहिलो अप्रिलको दिन हाँस्य व्यंग्यात्मक नाटक देखाइन्थ्यो। यसैअनुरूप अमेरिकामा पनि नयाँ वर्ष झैं मुर्ख दिवसको दिन पनि शुभकामना कार्ड पठाउन थालियो।
कोही व्यक्तिलाई पनि हानिनोक्सानी नहुने गरी स्वच्छ वातावरणमा मर्यादापूर्वक तरिकाले मनोरञ्जनका लागि अप्रिल फस्ट अथवा मुर्ख दिवस मनाउनुपर्छ।
अहिले पनि विभिन्न युरोपियन एसिया, आदि देशका नवयुवकले हाँसो ठट्टामा आफ्ना मित्रहरूलाई विभिन्न शैलीमा झुकाउन सकियो भने आफूलाई महानता भएको ठान्ने प्रचलन आजसम्म पनि रहेको पाइन्छ। कसैको काम विगार्ने शैलीमा होइन कि मजा लिन यस्तो कार्य गर्ने प्रचलन झन् बढ्दो रूपमा भइरहेको पाइन्छ। यस दिन ती व्यक्ति पनि झन् चनाखो बन्ने गरेको पाइन्छ। यसरी नै विश्वभरी क्रमिक रूपमा मुर्ख दिवस मनाउने परम्परा बस्न थाल्यो। जस्तो कि स्कटल्यान्डमा अप्रिलको पहिलो तारिखलाई ठग दिवसको रूपमा मनाइने गर्छ। त्यस्तै गरी बेलायतमा अप्रिल फुल मनाउने क्रममा एक अर्कालाई मुर्ख बनाउने काम दिनभरि ने भइरहन्छ। रोममा यो पर्वलाई “हिलारिया” पर्वका रूपमा मनाइन्छ। यस दिन दिनभरि हाँस्ने र हँसाउने कार्य गरिन्छ जस्लाई “रोमन लाफिङ” संज्ञा दिइन्छ। यसरी विभिन्न प्रकारले मुर्ख, हाँसो, आदिका रूपमा यो दिवस मनाइने गरिन्छ।
समग्रमा भन्नुपर्दा मुर्ख दिवस अर्थात अप्रिल फुल मनाउने चलन १६ औं शताब्दीतिर फ्रान्सबाट सुरु भएको देखिन्छ भने बेलायतमा १८ औं शताब्दीदेखि मात्र भएको पाइन्छ। आज आएर नेपाल र भारतमा पनि अप्रिलको पहिलो तारिखका दिन एकले अर्को व्यक्तिलाई झुक्याउने र मुर्ख बनाउने चलन अगाडि बढिरहेको छ तर हाम्रो संस्कृतिलाई हेर्ने हो भने गाईजात्राको दिनलाई हास्यव्यग्यंको रूपमा आमोदप्रमोद गर्ने चलन सयौं वर्ष अगाडिदेखि चलिआएको छ भने भारतमा पनि होलीको दिनमा यस्ता हास्य कार्य चल्दै आएको पाइन्छ।
अरू देशमा झैं नेपालमा पनि “ अप्रिल फूल ” केही समय अघिदेखि आएर निकै रोमाञ्चक साथ मनाएर एकाबिहानैदेखि दिनभर नै कयौंलाई मुर्ख बनाएर हाँसोे मज्जा गरी मनाइन्छ। यस दिवसको सन्दर्भमा साधारण हाँसो र ढाँट्ने क्रममा धेरैले असाधारण घटनाको सामना गर्नुपरेको समाचार पनि सुन्नमा नआएको होइन। त्यसकारण कुनै पनि दिवसलाई सहीरूपमा मनाइन सकियो भने मात्र त्यस पर्व मनाएको मज्जा या चलन चल्ती हो भन्न सकिन्छ नत्र भने विकृतिको उपहास मात्र हुन जान्छ। त्यसैले पर्व, दिवस मनाउँदा त्यसैको मौलिकताको अनुशरण गर्नु सबैको कल्याकारी हुन जाने हुन्छ। तसर्थ कसैको क्षणिक मनोरञ्जनका लागि कसैलाई आधात पर्न पनि सक्छ, त्यसकारण कसैलाई पनि असाधारण पीडा नदिई स्वच्छ र रमाइलो तरिकाले सामूहिक हाँसोको सिलसिलामा यसलाई मनाउनुपर्छ। चाडपर्व र दिवसहरू लोकसंस्कृतिका धरोहर आधार हुन्। त्यसैले कोही व्यक्तिलाई पनि हानिनोक्सानी नहुने गरी स्वच्छ वातावरणमा मर्यादापूर्वक तरिकाले मनोरञ्जनका लागि अप्रिल फस्ट अथवा मुर्ख दिवस मनाउनुपर्छ र यस दिवसमा कसैको मर्यादालाई आँच या अतिक्रमण गर्नुहुँदैन र यो पर्व हाँसीहाँसी खुसीका साथ आ–आफ्ना दौतरीबीच रमाई–रमाई मनाउनुपर्छ। यो नै कुनै पनि संस्कृतिको आफ्नो मौलिकता झल्किने हुन्छ। यसर्थ यसलाई नै शिष्ट र मर्यादापूर्वकको समाजको उदाहरण मान्न सकिन्छ।
यो सामाग्राी आजको अन्नपूर्ण पोस्टमा विश्वनाथ खरेलले लेखेका छन् ।