Aamsanchar

डुङ्गामा सरर, जोखिममा ज्यान

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

(सुरेन्द्र भण्डारी)
बिर्तामोड,।

14671374_1718838278441038_7011849262115871161_n

झापाका मेची, देवनीय, विरिङ, माई लगायतका नदीमा जोखिमपूर्ण रुपमा डुङ्गा सञ्चालन गरिएपनि नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय झापा बेखवर बनेको छ ।
पुराना र टालटुल गरेका डुङ्गामा यात्रुलाई चढाएर दिनहुँ खोला वारि पारि गर्दा जोखिम बढेपनि प्रशासन वेखवर बनेको नागरिक समाजका अगुवाले बताएका छन् । गत शुक्रवार मात्रैइलामको दानाबारी र महमाई गाविसलाई जोड्ने माईखोलाको चण्डालघाटमा डुंगा दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका थिए भने १० जना अझैं वेपत्ता छन् ।
अत्याधिक यात्रु चढेका कारण डुङ्गा दुर्घटना भएको डुङ्गामा सवार यात्रुले बताएका छन् । तर, झापामा पनि अत्याधिक यात्रु चढाएर नदी वारि पारि गर्दासमेत स्थानीय प्रशासन बेखबर बनेको नागरिक अगुवाको भनाई छ । मेची नदीमा भद्रपुरबाट भारत जान र आउन ढुङ्गाको प्रयोग हुँदै आएको छ । वर्षाैंदेखि मेची नदीमा पुल बन्न नसक्दा आवत–जावतमा स्थानीयवासीले डुङ्गा प्रयोग गर्दै आएका छन् । सरकारले पटक–पटक मेची पुलको शिलन्यास गर्दै काम नगर्दा त्यस क्षेत्रका स्थानीयले डुङ्गाको प्रयोग गर्दै आएका हुन् । तर , डुङ्गा चढ्दा यात्रुले लाइफ ज्याकेट बिनै जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपरेको छ । अहिले मेची पुल निर्माणाधीन अवस्थामा रहेको छ ।
त्यस्तै भद्रपुर हुँदै गोलधाप, राजगढ लगायतका स्थानमा जान निन्दा खोलामा पनि यात्रुले डुंगाकै सहारा लिनु परेको छ । राजगढबाट शरणामति, कुमरखोद, टाँगनडुब्बा जान पनि विरिङ खोलामा यात्रुले डुंगानै प्रयोग गर्ने गरेका छन् । उता कुमरखोद हुँदै शिवगञ्ज लगायत पश्चिम दक्षिण जान पनि यात्रुले माइखोलामा डुंगाकै भर पर्नु परेको छ ।
मेची खोलासहित हुलाकी राजमार्गमा पर्ने विभिन्न खोलामा धमाधम पुल निर्माण भइरहेपनि निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेका कारण त्यस क्षेत्रका यात्रुले डुंगाको प्रयोग गर्ने गरेका छन् । सबै खोलामा सञ्चालन गरिएका डुंगामा आवत–जावत गर्दा लाइफ ज्याकेट बिनानै यात्रुले जोखिम मोलेर यात्रा गर्ने गरेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आगामी सुरक्षा समितिको बैठकमा यस विषयमा कुरा राख्ने र डुंगामा यात्रा गर्दा यात्रुको संख्या निर्धारण गर्ने, लाइफ ज्याकेटलाई अनिवार्य गराउने लगायनका विषयमा छलफल गरी निर्णय गर्ने बताउनुभयो । उहाँले बाध्यात्मक परिस्थितिमा डुंगाबाट आवत–जावत गर्नुपर्ने अवस्थालाई मध्येनजर गर्दै नागरिकको सुरक्षाका लागि यात्रु, डुंगा चालक सबैलाई सचेत रहन आग्रह पनि गर्नुभएको छ ।

लाइफ ज्याकेट विनानै वोटिङ
झापाको पर्यटकीय क्षेत्रका रुपमा चिनिएका जामुनखाडी र शहीद सुखानी उद्यन प्रतिष्ठानमा राखिएका बोटिङमा सयर गर्दा लाइफ ज्याकेटको प्रयोग हुने गरेको छैन । जसका कारण वोटिङ कर्ताको ज्यान जोखिममा पर्ने गरेको छ । मनोरन्जनका नाममा सिमसार क्षेत्रमा सञ्चालनमा ल्याइएका वोटबाट वोटिङ गर्ने यात्रुबाट मनग्य रकम असुली गरेपनि लाइफ ज्याकेटको प्रयोग हुने गरेको पाइदैन ।
लाइफ ज्याकेट प्रयोग नगरी जामुनखाडी र शहीद सुखानी पार्कमा यात्रुको ज्यान जोखिममा परेर र अहिले वोटिङ सञ्चालन हुदै आएको छ । तर स्थानीय प्रशासन भने वेखवर रहेको छ । वोटिङका क्रममा डुङ्गा पल्टिए यात्रुको मृत्यु निश्चित छ । तर, यस विषयमा स्थानीय प्रशासन वेखवर छ ।
धन्सारका रुपमा चिनिदै गएका ती सिमसार क्षेत्रमा सञ्चारमा ल्याइएका बोटिङ दुर्घटनामा पर्ने हो भने अनाहकमा धेरैले ज्यान गुमाउने सरोकारवालाले भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जमुनखाडी सिमसार क्षेत्रमा बोटिङ सञ्चालन गर्दा लगाइने लाइफ ज्याकेट ल्याएर राखिएको छ तर प्रयोग भने गरिएको छैन । ज्याकेट कार्यालयको टाँडमाथि थन्क्याइएको छ भने बोटिङ गर्ने सर्वसाधारणलाई ज्याकेट लगाउनुसम्म नभन्दा सुरक्षा चुनौति बढेको छ ।
यता जामुनखाडी सिमसार क्षेत्रका अध्यक्ष पर्शुराम गिरीले आफूहरुसँग पर्याप्त मात्रामा लाइफ ज्याकेट रहेको तर घुम्न आउने पर्याटकले नै ज्याकेट नलगाउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘पटक–पटक उनीहरुलाई सम्झाएपनि मान्दैनन्, उल्टै झगडा गर्छन्, दिक्क भएर लाइफ ज्याकेटबिनै अहिले बोटिङ गराउँछौं ।’
जामुनखाडी सिमसार क्षेत्रमा वार्षिक ५० हजार आन्तगरिक तथा बाह्य पर्यटकले बोटिङ गर्ने गरेको अध्यक्ष गिरीले बताउनुभयो । २२ वटा बोट रहेको र एउटा बोटमा ४ जनाले बोटिङ गर्नसक्ने क्षमता रहेको अध्यक्ष गिरीको भनाई छ ।
आफूहरुसँग १ सय ५० वटा लाइफ ज्याकेट भएपनि यात्रुहरुले लाइफ ज्याकेट नगलगाउँदा आफूहरुलाई समस्या भएको अध्यक्ष गिरीले बताउनुभयो ।
यता शहीद सुखानी पार्कमा सञ्चालित बोटमा यात्रुलेनै लाइफ ज्याकेट नलगाउने गरेका कारण आफूहरु समस्यामा परेको प्रतिष्ठानका अध्यक्ष विर्ष प्रधानले बताउनुभयो ।
प्रतिष्ठानमा ६ वटा मात्रै लाइफ ज्याकेट रहेको र एउटा बोटमा ४ जनाले यात्रा गर्छन्, एउटालाई बोटमा एकजनालाई मात्र ज्याकेट दिइन्छ उहाँले भन्नुभयो–‘पौडिन जान्नेलाई ल्याकेट दिन्छौं, दिएपनि लगाउननै मान्दैनन् ।’
खड्ग विकलाई बोट सञ्चालनका निमित्त राखिएको र अनुगमनका क्रममा लाइफ ज्याकेट नलगाइएको पाइए लाइफ ज्याकेट लगाएर मात्र बोटिङ गर्न लगाउने गरेको उहाँको भनाई छ । तर, न त जामुनखाडी न सहीद सुखानी पार्क दुवै सिमसार क्षेत्रमा राखिएका वोटमा वोटिङ गर्दा लाइफ ज्याकेटको प्रयोग हुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर