Aamsanchar

पुलिस देखेपछि हामफाल्दा युवतीको मृत्यु

Author Image
शनिवार, कार्तिक १३, २०७३

तुलसीपुर:

Nepal-police-58140fcbbb55f9.60390712

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी लोकनाथ तिमिल्सिनाको नेतृत्वमा बिहीबार साँझ प्रहरीको एउटा टोली गस्तीमा निस्केको थियो । तुलसीपुर बजारदेखि उत्तरतिर रहेको होटेल ग्रीनपार्कमा प्रहरीको टोली पुग्यो । प्रहरीको टोली एकाएक छिरेपछि होटेलको तेस्रो तलाबाट एउटी युवती हामफालिन्, उनको त्यहीँ ज्यान गयो । केहीबेरपछि परिवारलाई बोलाइयो अनि प्रहरीले भन्यो, ‘छापा मार्न गएका बेला हतास भएर हामफालिछन् ।’

२० वर्षीया युवतीको मृत्युपछि परिवारले शव बुझ्न मानेन । शुक्रबार बिहानभरको छलफलपछि केही क्षतिपूर्ति दिने सहमतिमा मात्र प्रहरीले आफन्तलाई शव बुझाएको छ । युवतीसँग बसेका दुईजना युवक र होटेल मालिकले उक्त क्षतिपूर्ति भर्ने सहमति भएको छ ।

ती युवती दुईजना युवासँग उक्त होटेलमा गएकी थिइन् । त्यही समयमा प्रहरी होटेलभित्र छिरेपछि ती युवा कोठाबाट बाहिरिए । युवती भने होटेलको माथिल्लो तलामा थिइन् । प्रहरी सोही तलामा पुगेपछि उनले आत्तिएर छतबाट हामफालेको प्रहरीको भनाइ छ । प्रहरी पुग्दा कोठामा उनी एक्लै थिइन् ।

तर, खासमा प्रहरी भने होटेलमा छापा मार्न गएको थिएन । अघिल्लो दिन (बुधबार) बिहानै तुलसीपुरको बसपार्कबाट एकजनालाई आँखामा खुर्सानीको धुलो हालेर १६ लाख रुपैयाँ लुटिएको थियो । सोही घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई कसैले शंकास्पद व्यक्ति उक्त होटेलमा छिरेको भन्ने सूचना दिएको थियो । सोही सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । तर, प्रहरीको प्रवेशसँग आत्तिएकी ती युवतीले छतबाटै हामफालिन् ।

‘हामी त्यहाँ छापा मार्न गएकै थिएनौं । हाम्रो उद्देश्य त्यस्तो पनि थिएन’, डीएसपी तिमिल्सिनाले घटनाबारे भने, ‘होटेलमा पुगेर साहूजीलाई कति पाहुना छन् भनेर सोध्दै थियौँ, केही खसेको आवाज आयो । अर्कै घटनाको अनुसन्धान गर्दा दुःखद घटना भयो ।’

तुलसीपुर १८ हेमनगर निवासी उनी टुहुरी युवती हुन् । उनका बाबुलाई युद्धकालमै तत्कालीन माओवादीले अपहरण गरेर मारेका थिए । त्यसको केही वर्षपछि उनकी आमाले पनि दोस्रो बिहे गरिन् । आफ्ना हजुरबाहजुरआमासँग बस्दै आएकी उनका दाजु अहिले बीएससी अध्ययनरत छन् ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)