झापा- कोरोना भाइरसको संक्रमणका कारण हिजो एकैदिन झापामा सात जनाको मृत्यु भएको छ । समुदाय तहमा संक्रमण फैलिने क्रम जारी रहेकाले मानवीय क्षतिका घटना बढ्दै गएका हुन् । बिर्तासिटी हस्पिटलमा दुईजना , मेची अस्पतालमा दुईजना , दमकको लाइफलाइन हस्पिटल र आम्दामा एक–एकजना तथा होम आइसोलेसनमा एकजनाको मृत्यु भएको हो । बिर्तासिटी हस्पिटलमा बिर्तामोड ५ की ४० वर्षिया महिला र बिर्तामोड ६ की ७५ वर्षिया महिलाको मृत्यु भएको छ भने मेची अस्पतालमा कनकाई ३ का ४५ वर्षिय पुरुष र मेचीनगर ३ का ८३ वर्षिय पुरुषको ज्यान गएको छ ।
त्यस्तै मोरङ रतुवामाई १० का ७९ वर्षिय पुरुष र दमक ४ का ७० वर्षिय पुरुषको लाइफलाइन अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी भद्रपुर १० का ४९ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । झापामा आज ७३ महिला र ७५ पुरुष गरी १४८ जनालाई कोरोना संक्रमण भएको छ ।
योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३८३ पुगेको छ भने कूल संक्रमितको सँख्या १८ हजार १८८ पुगेको छ । त्यसमध्ये १३ हजार ३३० जना डिस्चार्ज भएका छन् । झापामा अहिले २३५७ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।