Aamsanchar

मनसुन लम्बिँदा हराए आगन्तुक चरा

Author Image
बिहिवार, कार्तिक १८, २०७३

[लक्ष्मीप्रसाद उपाध्याय ]

काठमाडौँ । 

birds-story

यसपटक हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउने उत्तरी ध्रुवका आगन्तुक चराको सङ्ख्या कम हुने देखिएको छ ।  नेपालमा मनसुन ढिलासम्म रही आकाश सफा नहुँदा उत्तरी ध्रुवका चराले नेपाली आकाशमा उडान भर्न नपाएपछि यो अवस्था आएको हो ।
उत्तरी ध्रुव रसिया लगायतका देशका साइबेरियन जङ्गलमा विचरण गर्ने विश्वकै दुर्लभ र सङ्कटापन्न विभिन्न प्रजातिका चरा हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउनेगर्छन् ।  यस पटकको मनसुन ढिलो गरी नेपालबाट हराएकाले साइबेरियन चरा नेपाली आकाशमा प्रवेश गर्न नसकेको पक्षीविद्ले बताएका छन् ।  पक्षीविद् डा. हेमसागर बरालका अनुसार यसपटक ढिलोसम्म मनसुनले प्रभाव पारेकाले नेपाली आकाशमा प्रशस्त मात्रामा साइबेरियन चराले उडान भर्न पाएनन् ।  फलस्वरूप यो वर्ष सधैँ झैँ उत्तरी ध्रुवका पक्षी नेपाली भूमिमा कम देखिनेभएका छन् ।
उत्तरी ध्रुवमा हिउँ पर्न सुरु भएपछि त्यहाँका रैथाने चराले विचरण गर्न दक्षिणी देशको भूमिमा उडान भर्ने गर्छन् ।  पहिलो चरणमा दक्षिण एसियाली देशका लागि उडेका चरा यहाँको मनसुनका कारणले अन्यत्र गएका हुनसक्ने बताइएको छ ।  पक्षीविद् डा. बरालले यो समयमा नेपाली आकाशमा धेरै आगन्तुक चरा देखिन थालिसक्थे तर यसपटक त्यति देखिएका छैनन् भन्नुभयो ।
कात्तिकको दोस्रो सातासम्ममा नारायणी, कर्णाली र कोसी बेसिनमा बढी देखिने चरा यो वर्ष कपिलवस्तुको जगदीशपुर ताल, बर्दियाको बडैया ताल, कैलालीको घोडाघोडी ताल, सुनसरीको चिमडी ताल, कोसी टप्पु र चितवनको सौराहा क्षेत्रमा अलि अलि देखिन थालेका छन् ।  अघिल्ला वर्षमा संरक्षित क्षेत्रभित्रका घाँसे मैदान, सिमसार क्षेत्र, नदी किनारमा जताततै आगन्तुक चरा देख्न पाइन्थ्यो ।  डा. बरालका अनुसार यो वर्ष सिमसार पक्षी ताल क्षेत्रमा बढी देखिए पनि घाँसे मैदान र वनजङ्गलमा विचरण गर्न आउने पक्षीको सङ्ख्या त्यति देखिएको छैन ।
उत्तरी ध्रुवमा हिउँ परेर अत्यधिक चिसो हुनेहुँदा कतिपय प्रजातिका चरा बच्चा कोरल्न नेपालको भूमिमा आउनेगरेका छन् ।  हिउँ पर्दा सुरक्षित बासस्थान नहुने, चारा पनि नपाइने, दिनभन्दा रातको समय लामो हुनेहुँदा विचरणको समय पनि छोटो हुने लगायतका समस्याले ती चराले विचरण गर्न नेपाल, भारत र श्रीलङ्काको भूमि प्रयोग गर्ने गरेको विज्ञको भनाइ छ ।  हिउँदे याममा रसिया, मङ्गोलिया हुँदै चीनको उत्तरी क्षेत्रबाट १५० प्रजातिका पक्षी नेपाल प्रवेश गर्ने गरेको कुरा डा. बरालले बताउनुभयो ।
आगन्तुक चराले बढी समय बिताउने कोसी टप्पु र चितवन राष्ट्रिय निकुञ्जमा त्यति चरा देखिएका छैनन् ।  सधैँ यो समयमा हजारौँको सङ्ख्यामा आकाशमा हुलका हुल देखिने चरा यो वर्ष सयौँका हुल मात्र देखिन थालेका छन् ।  लामो समयमा कोसी टप्पु वन्यजन्तु आरक्षमा काम गर्नुभएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत अशोककुमार रामका अनुसार कोसी टप्पु ५०२ प्रजातिका पक्षीको बासस्थान मानिन्छ ।  हिउँदे याममा रैथाने चरा र आगन्तुक चराले सँगै विचरण गरेको दृश्य नजिकबाट हेर्न सकिने भएकाले कोसी टप्पुमा पक्षीसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अनुसन्धानकर्ता तथा पर्यटकीय विकासका लागि राम्रो अवसर हुने उहाँको धारणा छ ।  हिउँदे याम चराको प्रत्यक्ष अवलोकन र अध्ययन गर्नेका लागि नेपाल उपयुक्त स्थान मानिन्छ ।
पक्षीविद् डा. बरालका अनुसार विश्वमै दुर्लभ मानिने महाचिल र चिलले निकै उचाइबाट उडान भरेर नेपाली भूमिमा छ महिना जति विचरण गरी भारत, श्रीलङ्काको जङ्गल हुँदै अफ्रिकी जङ्गलसम्म यात्रा गर्नेगर्छन् ।  विश्वमै दुर्लभ मानिने उत्तरी ध्रुवमा पाइने रणमत्ता महाचिल र जीवाहार महाचिल, दुर्लभ हाँस प्रजातिका चराले हिउँदका छ महिना नेपाली भूमिमा विचरण गर्ने गर्छन् ।
हिउँदे याममा तराईमा शीतलहर चल्दा केही चराको आहार र विचरणमा समस्या पर्ने गरेको र त्यस्ता केही चरा नेपाली भूमि छाडेर भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गरेकोसमेत बताइन्छ ।  हिउँदका छ महिना नेपालका घाँसे मैदान, तालतलैया, सिमसार क्षेत्र र वनजङ्गलमा नेपालका रैथाने चरासँग मिलेर आगन्तुक चरा विचरण गर्ने गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर