Aamsanchar

जिल्ला प्रशासन झापाको कार्वाही प्रति व्यवसायी संगठनद्वारा आपत्ती प्रकट

Author Image
बुधवार, साउन २७, २०७८

बिर्तामोड। जिल्ला प्रशासन कार्यालय झापाले होटल खोलेको भन्दै होटल सञ्चालकलाई २० हजार रुपैयाँ जरिवाना गरेको विषयमा व्यवसायी र नागिरकहरुबाट भिन्न भिन्न टिप्णीहरु आई रहेको बेला प्रशानको कार्य प्रति बिर्तामोड उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्स झापाले विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ ।

बिर्तामोड–५ का व्यवसायी लीलहाङ लिम्बूले सञ्चालन गरेको फुटस्टेप होटल निषेधाज्ञाको समयमा खोलेर निषेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार २० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

व्यवसायीको परिस्थिति नबुझी सफाईको मौकासमेत नदिई प्रशासनले गरेको दण्डप्रति बिर्तामोड उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्स झापाले
खेद प्रकट गरेको छ ।

उद्योग बाणिज्य संघ बिर्तामोडबाट जारी प्रेस विज्ञप्तीमा भनिएको छ, “मुलुक सञ्चालनमा महत्वपूर्ण योगदान गर्ने उद्योगी, व्यवसायी कोरोना महामारी र निषेधाज्ञाका कारण बैंकको व्याजसमेत तिर्न नसक्ने र साना व्यवसायीहरु परिवारको खर्च समेत धान्न नसक्ने अवस्था एकातिर सिर्जना भइरहेको छ । अर्कोतर्फ यस क्षेत्रका व्यवसायीलाई कोरोना विरुद्धको खोपबाट वञ्चित गरिएको छ । समस्या र पीडाको बीचमा सामान्य विषयमा यति ठूलो कारवाही गरेर प्रशासनले उद्योगी व्यवसायीलाई कुन दृष्टिकोणले हेर्छ भन्ने कुरा प्रष्ट भएको छ । सबै क्षेत्र खुल्ला हुने तर उद्योग व्यवसाय बन्द गरेर बस्नुपर्ने कहिलेसम्म हो रु महामारीको समयमा सरकार र स्थानीय प्रशासनबाट उद्योगी, व्यवसायी माथि गम्भीर विभेद र पक्षपात भइरहेको हामीले अनुभूत गरेका छौँ । कि खोल्दा सबै क्षेत्र खुल्ला गर्नुपर्यो कि पूर्ण बन्द हुनुपर्यो ।”

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले हस्ताक्षर गरेको विज्ञप्तीमा प्रशासनले तत्काल आफ्नो निर्णय सच्याउन साथै, सबै व्यवसायीलाई तत्काल खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्ड अनुसार व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरिएको छ ।

त्यस्तै, चेम्बर अफ कमर्स झापाले विज्ञप्ती जारी गर्दै लकडाउन उद्योगी तथा व्यवसायीका लागि मात्र भएको जनाएको छ । बैंकिङ् क्षेत्र, यातायात तथा अन्य गतिविधि चलायमान रहेपनि व्यवसाय क्षेत्र ठप्प बनाइएको प्रति आपत्ति जनाएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडका होटल व्यवसायीलाई गरेको जरिवाना समस्याको समधान नभएको चेम्बरको भनाई छ । भिड बढाउने कार्यमा व्यवसायी भन्दा अन्य क्षेत्र बढी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, “व्यवसायीलाई दण्ड र जरिवाना गरी आन्दोलित र आक्रोशित पार्ने काम भइरहेको छ । आगामि दिनमा यस्तो कार्य गरिनु हुँदैन । जिम्मेवार सबै निकाय सजग हुनु आजको आवश्यकता हो । कोरोना महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन हामी तयार छौँ । यो समस्या समाधान गर्न सबै उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानकर्षण गराउन चाहान्छौँ ।”

विज्ञप्तीमा चेम्बर अफ कमर्स झापा अध्यक्ष ओमकृष्ण बिमली, प्रदेश–१ उपाध्यक्ष सन्तोस अग्रवाल, झापा महासचिव प्रदिप खरेल, चेम्बर अफ कमर्स दमक अध्यक्ष, राजेन्द्र ढकाल, कनकाई अध्यक्ष मिनाल तिम्सिना, अर्जुनधारा अध्यक्ष पुष्पराज रेग्मी, मेचीनगर अध्यक्ष रविन्द्रकुमार बस्नेतको हस्ताक्षर रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर