Aamsanchar

न्यून दृष्टिविहीनलाई परीक्षा दिनबाट बञ्चित गराउन खोज्दै झापाको एक विद्यालय

Author Image
बुधवार, भदौ ९, २०७८

झापा –अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको निर्देशनमा नगर क्षेत्रको एक सामुदायिक विद्यालयले अपांगता परिचयपत्र भएका एक न्युन दृष्टिविहीनलाई अधिकारबाट बञ्चित गराउन खोजेको छ। सिंहदेवी माध्यमिक विद्यालयले खुला दृष्टिविहीन प्रावि स्तरका शिक्षक (करार)पदपूर्तिका लागि साउनको पहिलो साता विज्ञापन आह्वान गरेको थियो। उक्त विज्ञापनको आधारमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ का विष्णु दाहालले साउन १८ गते विद्यालयमा आवेदन दरखास्त पेश गरेका थिए।

हाल काठमाडौंमा बसोबास गर्दै आएका दाहालले झापामा रहेका साथीको सहयोगमा आवेदन पेश गरेका थिए। आवेदन पेश गरेपछि दाहाल परीक्षाको तयारी जुटेका थिए। तर, विद्यालयले अन्तिम समयमा परीक्षामा सामेल गराउन नसक्ने जानकारी गराएपछि आफू चकित परेको दाहालले बताए।

विद्यालयले न्यून दृष्टिविहीन भएकाले परीक्षामा सामेल गराउन नसक्ने जानकारी गराएको बताएको उनले बताए। ‘सरकारले नै मलाई न्यून दृष्टिविहीन (ग)वर्गको अपांगता भएको परिचयपत्र दिएको छ। सोही पहेंलो रंगको परिचयपत्रको आधारमा आवेदन दिएको हुँ। विद्यालयले तपाईं (ग) वर्गको दृष्टिविहीन भन्दै परीक्षा दिनबाट बञ्चित गराउन मिल्छ ?’ उनले भने‚ ‘११ सय तिरेर आवेदन फारम भरेको १५ दिनपछि परीक्षा दिन नमिल्ने कुरा कतिको जायज हो? कि विद्यालयले आवेदन दरखास्त सुरुमै लिनु हुँदैन थियो।’

परिचयपत्र हुँदाहुँदै आफ्नो अधिकारमाथि विद्यालय प्रशासन र शिक्षा शाखाले बन्देज लगाउने खोजेको उनको आरोप छ। शिक्षा सेवा आयोगबाट जारी परीक्षा सञ्चालन निर्देशिका २०७५ को बुँदा नम्बर ११ मा अपांगता भएको कारण आफैंले लेख्न नसक्ने दृष्टिविहीन, (ग)वर्गको न्यून दृष्टिविहीन र दुवै हात नचल्ने (अपांग) परीक्षार्थीले सहयोगी लेखक माग गरेमा सम्बन्धित तहका लागि तोकिएको न्यूनतम योग्यताभन्दा कम्तीमा एक तह तलको योग्यता भएको व्यक्तिलाई सहयोगी लेखकको रुपमा परीक्षामा बस्न परीक्षार्थीले दरखास्त फाराम भरेमा शिक्षा विकास तथा समन्वय इकाइले अनुमति दिने भन्ने उल्लेख छ। निर्देशिकामा व्याख्या गरे अनुसार (ग) वर्ग पनि दृष्टिविहीनमा पर्छ।

नेत्रहिन युवा संघ नेपाल झापाका अध्यक्ष चन्द्र भट्टराईले सरकारले दृष्टिविहीन भनेर पूर्ण दृष्टिविहीन, दृष्टिविहीनता र न्यू दृष्टिविहीन भनेर तीन वर्गमा छुट्टाएको बताए। ‘शिक्षा सेवा आयोगको परीक्षा निर्देशिकामा (ख)र (ग)वर्गका दृष्टिविहीनले दृष्टिविहीन शिक्षकको कोटामा भिडन पाउँछ, त्यो अधिकार सरकारले नै बनाइदिएको हो,’ उनले भने‚ ‘आवेदनकतालाई विद्यालयले अन्तिम समय आएर परीक्षाबाट बञ्चित गराउनु भनेको त्यहाँ कुनै चलखेल हुनुपर्छ।’

सरकारले दृष्टिविहीनको परिचयपत्र दिएपछि न्यून दृष्टिविहीन पनि दृष्टिविहीन शिक्षक कोटामा प्रतिष्पर्धा गर्न पाउने शिक्षा विकास तथा समन्वय इकाइ समिति झापाका प्रमुख राजकुमार विकले बताए। ‘दृष्टिविहीनको वर्ग सरकारले छुट्याउने हो,’ उनले भने, ‘विद्यालयले दृष्टिविहीनको वर्ग छ्ट्याउन मिल्दैन, त्यसैले उनीहरुले पाउने अधिकारबाट कुनै पनि विद्यालयले बञ्चित गराउन मिल्दैन, परीक्षामा सामेल गराउनु पर्छ।’

यता अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तोयानाथ रेग्मी दृष्टिविहीन शिक्षक कोटामा ग वर्गको न्यून दृष्टिविहीनले प्रतिष्पर्धा गर्न नपाउने दाबी गर्छन। ‘शिक्षा सेवा आयोगले त्यो कुरा कही उल्लेख गरेको छैन, त्यही भएर (ख) वर्गका दृष्टिविहीनलाई मात्र परीक्षामा सामेल गराउन मिल्छ,’ उनले भने। सिंहदेवी माविको दृष्टिविहीन शिक्षक पदपूर्ति छनौट समितिका संयोजक पनि शाखा प्रमुख रेग्मी नै हुन्।

दाहालको आवेदन परेपछि छनौट समितिले न्यून दृष्टिविहीन (ग)वर्गलाई परीक्षामा सामेल नगराउने भनी निर्णय गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी रिमालले बताए। छनौट समितिले निर्णय गर्दा आफू त्यस बेला विद्यालयमा नरहेको बताउँदै उनले भने, ‘न्यून दृष्टिविहीन भएका आवेदनकर्ताले प्रमाण पेश गरे परीक्षामा सामेल गर्न दिन्छौं, परीक्षा शनिबार हुन्छ।’

-थाहाखबरबाट

Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर