

भद्रपुर –नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसको १४ महाधिवेशन अन्तरगत गाउँ तथा नगरमा नेतृत्व चयनका लागि शनिबारदेखि पालिका तहको अधिवेशन सुरु भएको हो । नगरमा सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा चुनावी प्रक्रियामा गएको छ । सभापति, सचिव र सहसचिव मुख्य ५ पदमा १३ जनाको उम्मेदवारी परेको छ ।

उपसभापति पदमा दुई जना निर्विरोध निर्वाचित भएको मतदान अधिकृत मञ्जु दाहालले जानकारी दिइन् । उपसभापति निर्वाचित हुनेमा रमेशचन्द्र झा र भरतचन्द्र गुृरुङ रहेका छन् । उपसभापति पदबाट रेखा अधिकारीले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

त्यस्तै प्रत्यक्ष महिला सदस्य खुलामा १०, प्रत्यक्ष सदस्य खुलामा २०, समावेशी खस आर्य महिलामा ३, खस आर्य खुलामा ४, समावेशी आदीवासी जनजातिमा महिला ५, आदिवासी जनजाति खुला ५, मधेशी महिला र खुला १÷१, दलित खुला १, मुस्लिम महिला १, अपाङगता महिला र खुला १÷१ जना र्निविरोध निर्वाचित भएका छन् ।

नगर सभापित एक पदका लागि बन्धु कार्की, मदनबहादुर बस्नेत, ज्ञानबहादुर चौहान, भरत प्रसाँई र रामबहादुर कँडेलले उम्मेदवारी दिएका छन् । सचिव दुई पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिव पदमा कविन राई, दुर्योधन कार्की, अनिता रिजाल, टेकबहादुर पाण्डे, उत्तम कोइराला र सन्तकुमार राजवंशी(सन्तोष)ले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी सहसचिव दुई पदका लागि चार जनाको उम्मेदवारी परेको छ । सहसचिव पदमा मणिकुमार राई, सन्तोष थापा, नन्दलाल राजवंशी र दीपेशकुमार साहाले उम्मेदवारी दिएका छन् । भद्रपुरस्थित एनसीडिसी भवनमा काँग्रेस नेतृत्व चयनका लागि चुनावी महोल तातिएको छ ।
सबै उम्मेदवार आफु जित्ने आत्म विश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन् । चुनावी प्रक्रियामा जानुअघि दुई दिन नेता सिटौला गृह नगर आएका थिए । सिटौलाले सर्वसम्मत नगर नेतृत्व चयनका लागि आकांक्षी उम्मेदवारहरुलाई पटक–पटक बोलाएर छलफल गरेका थिए । तर, आकांक्षी उम्मेदवारहरुले आआफ्नो पदमा दावीसँगै अडान छाड्न मानेनन ।
नेता सिटौलाको कुरा आकांक्षी उम्मेदवारहरुले नमान्दा अन्नतः सभापति, सचिव र सहसचिव पदका उम्मेदवार चुनावी मैदानमा गएका हुन् । नगरमा २३९ मतदाता रहेको छ । आइतबार हुने निर्वाचन प्रक्रियाबाट बाँकी पदको चिनोफानो हुने छ ।

