Aamsanchar

एमालेको बन्दसत्रमा रुघाखोकी लागेकालाई प्रवेश निषेध

Author Image
शुक्रवार, मंसिर १०, २०७८

नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा शुरू हुन लागेको छ।

तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ। महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुने एमालेले जनाएको छ।

जसमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका छन्। त्यत्तै, २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको एमाले प्रचार विभाग प्रमुख योगश भट्टराईले बताए।

११ मंसीर बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र शुरु हुनेछ। त्यहि दिन उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सकेर साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ।

१२ मंसीर बिहान ८ बजेदेखि मतदान शुरु हुने एमालेले जनाएको छ। मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ।

बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ। स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने जनाएको छ।

एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए।

 

Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर