Aamsanchar

अनलाइन ठगी मौलायो, ठगका लागि बैंकिङ क्षेत्र भर्याङ

Author Image
शुक्रवार, पौष २३, २०७८

काठमाडौं । बैंकिङ क्षेत्रमा डिजिटलाइजेनसको विस्तारसँगै डिजिटल बैंकिङकै माध्यमबाट हुने ठगीका घटनाले पनि भयावह रुप लिँदै गएको छ ।

प्रहरीले पुस १९ गते मात्रै फेसबुक ह्याक गरेर बैंक खाता र ईसेवालगायत वालेटमा रकम माग्दै ठगी गरेको आरोपमा मोरङका एक जना युवकलाई पक्राउ गर्‍यो ।

पछिल्लो समय औसतमा दैनिक ३ वटासम्म अनलाइन ठगीको उजुरी महानगरीय अपराध महाशाखामा आउने गरेको महाशाखाका प्रवक्ता कृष्ण कोइराला बताउँछन् ।

महाशाखामा मात्रै पछिल्लो एक वर्षमा ४०० भन्दा बढी अनलाइन ठगीको उजुरी दर्ता भएको छ । अधिकांस ठगी कुनै न कुनै रुपमा बैंक अथवा मोबाइल वालेटसँग जोडिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

अनलाइनबाट हुने ठगीमा बैंकिङ क्षेत्र नै माध्यम बन्दै गएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् । अनलाइन ठगीमा नक्कली कागजात प्रयोग गरेर लिएको सिमकार्ड प्रयोग हुने गरेको प्रवक्ता कोइरालाले जानकारी दिए ।यसरी हुने ठगीमा दुरसञ्चार सेवा प्रदायक कम्पनीले जथाभावि रुपमा वितरण गर्ने सिमकार्ड (मोबाइल नम्बर) कारक रहेको प्रहरीको भनाइ छ ।

“मोबाइल सेवा प्रदायकले ‘बाइ वान गेट वान फ्रि’ जस्ता अफर ल्याएर सिमकार्ड वितरण गरिरहेको छ, त्यसरी वितरण भएको सिमकार्ड कसले र कसरी प्रयोग गर्छ भन्ने रेकर्ड नै हुँदैन,” प्रवक्ता कोइराला भन्छन्, “सिमकार्ड बेच्नेले नागरिकतामा एउटा फोटो र फर्म भर्दा अर्को फोटो छ भने पनि सिम दिएर पठाउँछ, डकुमेन्ट कस्को हो र सिम कसलाई छ भन्ने रेकर्ड हुँदैन, त्यही सिमकार्ड ठगीमा प्रयोग हुन्छ ।”

विभिन्न चिट्ठा र गिफ्ट पठाएको नाममा हुने ठगी प्रहरीको लागि नयाँ हैन । तर, अब सामाजिक सञ्जालको प्रयोगबाट हुने ठगी भने प्रहरीको लागि चुनौती बनेको छ ।

नेपालमा प्रयोग हुने फेसबुक, ह्वाट्सएप, भाइबर, इमोजस्ता सामाजिक सञ्जाल पछिल्लो समय अनलाइन ठगीको माध्यम हुँदै गएको प्रहरी बताउँछ ।

नक्कली कागजातबाट सिमकार्ड मात्रै निकाल्ने नभएर बैंक खाता नै नक्कली कागजबाट खोल्ने गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बाह्रखरीसँगको कुराकानीमा बताए । “हाम्रो सरोकारवाला निकाय नै जिम्मेवार छैन, नक्कली कागजात अथवा अर्कोको कागजात पेस गरेर सजिलै सिमकार्ड पाइन्छ,” ति प्रहरी अधिकृत भन्छन्, “नागरिकतामा एउटाको फोटो र केवाईसीमा अर्कैको फोटो राखेर बैंक खाता खुल्छ । बैंकले केवाईसी भेरिफिकेसन गरेको भन्छ तर डकुमेन्टको आधारमा ट्रयाकिङ गर्दा अर्कैको निस्कन्छ, यी सुन्दा सामान्य लाग्छ तर यसैका कारण अनलाइन ठगी बढ्दै छ ।”

सिमकार्ड, बैंक र वालेटको केवाईसी भेरिफिकेसनमा मात्रै जिम्मेवारी बन्ने हो भने यस्ता घटना धेरै हदसम्म कमी हुन्छ भने अनुसन्धानमा पनि सहयोग पुग्ने प्रहरी अधिकारी बताउँछन् ।

यसरी लिएको सिमकार्ड (मोबाइल नम्बर) र खोलेको बैंक खाता अनलाइन ठगीमा प्रयोग हुने गरेको छ ।

यसरी लिएको सिमकार्ड इसेवा, खल्तीलगायतका वालेट सञ्चालनमा प्रयोग हुन्छ बैंकको मोबाइल बैंकिङ खातामा समेत यस्तै मोबाइल प्रयोग हुने गरेको उनीहरुको भनाइ छ ।

“इसेवा खल्तीलगायतको वालेटमा नाम मात्रैको केवाईसी भेरिफिकेसन हुन्छ, कसले कसरी त्यसको प्रयोग गर्छ भन्ने नै एकिन हुँदैन, बैंक खाताभन्दा यस्ता वालेट अनलाइन ठगीमा बढी प्रयोग हुने गरेको प्रहरीको भनाई छ ।

बैंक खातामा एकबाट अर्को खातामा पठाएको पैसा रोक्का गर्न सकिने तर वालेटमा भने त्यो मुस्किल हुने गरेकोले पनि अनलाइन ठगी गर्नेको रोजाइमा वालेट पर्ने गरेको छ ।

पछिल्लो समय बैंकमा राखेको पैसा हरायो भन्दै उजुरी आउने क्रम पनि बढेको प्रहरीले जानकारी दिएको छ ।

तर, त्यस्तो घटनामा पनि कुनै न कुनै रुपमा बैंकको खाताहोल्डरले नै गल्ती गर्ने गरेको अनुसन्धान गर्ने प्रहरी अधिकारीको अनुभव छ । अहिले बैंकको कर्मचारी भनेर फोन गरेर खाता नम्बर र मोबाइल नम्बर माग्ने र कुनै प्रयोजनको लागि भन्दै मोबाइलमा आएको ‘ओटीपी’ कोड मागेर रकम ट्रान्सफर गर्ने गरेको प्रहरीको भनाइ छ । यस्तो घटनामा पीडितले बैंकले मेरो रकम चोर्‍यो भन्ने गरेको सुनिन्छ तर, आफैँले ठगी गर्नेलाई विवरण दिएको पत्तो हुँदैन । यस्तो कुरामा आम नागरिक सचेत हुनुपर्ने उनीहरुको भनाई छ ।

कसरी हुन्छ ठगी ?

नेपालमा अनलाइन ठगी गर्नको लागि सामाजिक सञ्जालकै बढी प्रयोग हुने गरेको छ । यस्तो ठगीको कनेक्सन हुन्डीसम्म हुने गरेको प्रहरी अधिकारीको भनाई छ ।

यसरी सामाजिक सञ्जालबाट हुने ठगी बढ्नुको प्रमुख कारण लालच भएको एक प्रहरी अधिकारी दाबी गर्छन् । पढेलेखेका शिक्षित मान्छे नै चिठ्ठा तथा गिफ्टलगायतको लोभमा पनि ठगलाई पैसा लुटाउने गरेका छन् ।

प्रहरीले महालक्ष्मीराज भण्डारी नामक एक जना महिलाको उदाहारण दिँदै भन्यो, “शिक्षकबाट रिटायर्ड भएको ६५ वर्षकी एकजना महिलाले विदेशबाट गिफ्ट आउने लोभमा २९ लाख डुबाउनु भएछ,” प्रहरी अधिकारी भन्छन्, “फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ, त्यसलाई वास्तै नगरि को रहेछ भनेर चिन्दै नचिनेको मान्छेको रिक्वेस्ट एसेप्ट गर्छौँ र कुरा सुरु गर्छौँ, २–४ महिना कुरा गरेकै आधारमा चिन्दै नचिनेको मान्छेले बहुमूल्य गिफ्ट पठाउँछु भनेर सामान प्याक गरेको भिडियो पीडितलाई पठाउँछ ।”

त्यसपछि भारतबाट राणा प्रताप सिंह बोलेको भन्दै तपाईँको गिफ्ट भन्सारमा आएको छ, कर तिर्न यति पैसा चाहियो भन्दै फोन गरेर पैसा पठाउन बैंकको खाता नम्बर पठाउँछ ।

ती महिलाले उक्त खातामा २९ लाख रुपैयाँ पठाएको प्रहरीले बताएको छ । गिफ्टको लोभमा पठाएको पैसा ठगिसकेको ति महिलालाई थाहै हुँदैन ।

जब आफु ठगिएको थाहा हुन्छ त्यसपछि उनी प्रहरीकहाँ पुग्छिन् । प्रहरीको लागि भने यस्ता घटना नयाँ होइन । महिलाको उजुरीको आधारमा प्रहरी खाता सञ्चालकसम्म पुग्छ । फेसबुकबाट गिफ्ट पठाएको मान्छेलाई ट्रयाक गर्न नेपाल प्रहरीलाई सम्भव नै छैन ।

फेसबुक ह्वाट्सएपलगायतको सामाजिक सञ्जालको न नेपालमा आधिकारिक कार्यालय नै छ न सरकारी निकायले अनुसन्धानको लागि उनीहरुसँग सम्पर्क गर्नको लागि कुनै रोडम्याप नै बनाइदिएको छ ।

त्यसैले प्रहरीको अनुसन्धान गर्ने माध्यम भनेकै बैंक खाताको ट्र्याकिङ हो । अनुसन्धान गर्दा खाता सञ्चालक गाउँको सामान्य परिवारको एक महिला रहेको र उनको श्रीमान् वैदेशीक रोजगारीको क्रममा दुबइमा रहेको प्रहरीको भनाई छ ।

“ठगीको पैसा जम्मा भएको खाता सञ्चालकसम्म पुग्दा ठगीको जालो हुन्डीसँग जोडिएको देखियो, हामीले उक्त महिलासँग सोधपुछ गर्दा उनले श्रीमान्ले विदेशबाट पठाएको पैसा भनिन्,” ति प्रहरी अधिकारी भन्छन्, “हामीले दुबईमा उसको श्रीमानसँग सम्पर्क गर्दा उनले सुरज ढुंगाना भन्ने व्यक्तिलाई नेपाल पठाइदिन भन्दै पैसा दिएको बताउँछ ।”

यो त अनलाइन ठगीको उदाहारण मात्रै हो । पछिल्लो समय गाउँ गाउँमा गएर एनजीओको नाममा गाउँका महिलाको खाता खोलेर त्यसको दुरुपयोग गर्दै त्यस्ता खातालाई अनलाइन ठगीमा प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ ।

“तराईका विपन्न समुदायमा गएर एनजीओबाट आएको भनेर विभिन्न सहयोग गर्ने नाममा गाउँभरका महिलाको नाममा बैंक खाता खोल्न लगाउँछन्, सहयोग रकम बैंक खातामा जम्मा गर्ने नाममा खाताको सम्पूर्ण विवरण लैजाने गरेको एक ठगी केसको अनुसन्धानको क्रममा देखियो,” अपराध महाशाखाका एक अधिकारीले भने, “यसरी खोलेको खाता अनुसन्धान गर्दै जाँदा अनलाइन ठगीमा प्रयोग भएको भेटियो, उनीहरुलाई सोधपुछ गर्दा एनजीओको सर आउनु भएको थियो उहाँले भनेर खोलेको भन्छन् तर, सर को हो केही पत्तो छैन ।”

अनुसन्धानमा प्रहरीलाई चुनौती

यसरी अनलाइन ठगीको विभिन्न माध्यमबाट बैंकसँग कनेक्सन बढ्दै गएको प्रहरीले जनाएको छ ।

तर, अनलाइन ठगीको अनुसन्धानमा प्रहरीलाई भने ठुलो चुनौती रहेको छ । “हामी डिजिटलाइजेसन भन्छौँ, यही माध्यम प्रयोग गरेर ठगी दिन प्रतिदिन बढ्दै छ, तर, त्यो डिजिटलाइजेसनमा अपराध नियन्त्रण र अनुसन्धान गर्ने निकायकै पहुँच हुँदैन,” एक प्रहरी अधिकारीले दुखेसो पोख्दै भने, “कुनै एउटा बैंक खाताको विवरण माग्नुपर्‍यो भने पहिले अदातलको आदेश चाहिन्छ, अदालतको आदेश लिएर गयो बैंक किन र के को लागि चाहियो भनेर अलमल गर्छ त्यतिबेरमा ठगीको रकम कहाँ पुगिसक्छ ।”
अदालत र प्रहरीले जहिले पनि प्रमाणमुखि अनुसन्धान गर्नुपर्छ भन्ने गरेको छ ।

तर, त्यसको लागि आवश्यक टुल्सलाई जोड्ने काम कसको ? उनी प्रश्न गर्छन् ।

कसैको मोबाइल ट्र्याकिङ गर्नुपर्यो भने प्रहरीलाई सीधै पहुँच हुँदा तुरुन्तै ट्रयाक गर्न सकिन्छ । तर, अनुसन्धान गर्ने जिम्मेवार निकायलाई त्यसको पहुँच नभएको उनको गुनासो छ ।

प्रहरीले नेपाली धेरै भएको मुलुकमा प्रहरीको युनिट स्थापना गर्नैपर्ने बताउँदै आएको छ । यस्तो युनिटले सम्बन्धित केसलाई नजिकबाट नियालेर निकास निकाल्न सकिने ती प्रहरी अधिकारीको धारणा छ ।

१२ खरीबाट साभार

Views: 638

प्रतिक्रिया (०)