चारपाने । श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड–२ चारपानेले दुई बर्षअघि आयोजना गरेको स्वर्ण महोत्सवको हिसाब सार्वजनिक गरेको छ । स्वर्ण महोत्सव मुल आयोजक समितिले शनिबार(आज) मन्दिर परिषरमा पत्रकार भेटघाट गर्दै महोत्सवको आय तथा व्यय सार्वजनिक गरेको हो ।
स्वर्ण महोत्सवमा आम्दानीतर्फ एक करोड ४७ लाख ६ हजार ८ सय ४८ रुपैयाँ र खर्च तर्फ एक करोड ५० लाख ६ हजार ६ सय ५१ रुपैया भएको हिसाब सार्वजनिक गरेको छ । त्यस्तै उठन बाँकी चार लाख ६ हजार ३१५ रुपैयाँ रहेको छ । आयोजक समितिले सार्वजनिक गरेको आय व्यय अनुसार १२ लाख ७० हजार ५६० रुपैयाँ तिर्न बाँकी रहेको छ भने उक्त रकम मध्ये ४ लाख ७ हजार रुपैया अक्षय कोषको रहेको छ ।
श्रीराधाकृष्ण प्रणामी मन्दिर गोपीधाम धरानका गादीपति साथै श्रीकृष्ण प्रणामी मन्दिर चारपानेका संरक्षक श्री जगतानन्द शास्त्रिजी महाराजको अध्यक्षतामा भएको कार्यक्रम श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य चन्द्र डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
स्वागत श्रीकृष्ण प्रणामी मन्दिर चारपानेका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले गरेको कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् झापाका अध्यक्ष टहलदास ओली, श्रीकृष्ण प्रणामी युवा परिषद् प्रदेश १ का अध्यक्ष अनिल ढुंगाना, श्रीकृष्ण प्रणामी सत्संङ सेवा परिषद् झापाका अध्यक्ष मिलन बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा स्वर्ण महोत्सव मुल आयोजक समितिका महासचिव शारदाप्रसाद थपलियाले गरेका थिए ।