Aamsanchar

ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसभा सम्पन्न

Author Image
मङ्गलवार, मंसिर २८, २०७३
बिर्तामोड।madan sir copy
 नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आज मंगलबार बिर्तामोडमा शोकसभा सम्पन्न गरिएको छ ।
बिर्तामोड–१ स्थित ढकाल निवासमै नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा भएको शोकसभाका वक्ताहरुले स्वर्गीय पत्रकार ढकालको साधा जीवन र उच्च विचारको चर्चा गरेका थिए । उनीहरुले पत्रकार ढकालले पत्रकारिता यात्रामा अवलम्वन गरेको बाटो सबैले अनुकरण गर्न सक्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पत्रकार ढकालको स्वर्गारोहणले महत्वपूर्ण संस्था ढलेको बताए । उनले पत्रकार ढकालका योगदान र अधुरा सपनालाई साकार पारी उनलाई सदैव ज्यूँदो राख्नुपर्ने बताए ।
पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष टिकाराम उप्रेती, फोनिजका जिल्ला अध्यक्ष गणेशमान मुखिया, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, जिल्ला अध्यक्ष रञ्जित प्रसाई, प्रेस चौतारीका पूर्व अध्यक्ष गोपाल काफ्ले, पूर्वाञ्चल दैनिकका प्रकाशक भरलाल गिरी, प्रकाशन सहयोगी भानुप्रसाद शिवाकोटी, व्यवस्थापक चन्द्रकान्त ढकाल, पूर्व सम्पादक गोपाल गिरी, महिला सञ्चारकर्मी लीला अनमोल, जनसंसद दैनिकका अध्यक्ष कृष्णप्रसाद उप्रेती, सम्पादक राजु अधिकारीले स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलिसहित उहाँको योगदानको चर्चा गरेका थिए ।
त्यस्तै पत्रकार महासंघ सुनसरी शाखाको तर्फबाट अध्यक्ष केशव घिमिरेले श्रद्धाञ्जलिसहित पत्रकार ढकालको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापाका सचिव एवम् पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीले गरेका थिए ।
श्रद्धाञ्जलि सभामा प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य विमल लामिछाने, फोनिजका केन्द्रीय सदस्य इन्द्रजीत मुखिया लगायत जिल्लाका सञ्चारकर्मीको उल्लेख संख्यामा उपस्थिति रहेको थियो । पत्रकार ढकालको यहीं मंसीर २३ गते राति ६४ वर्षको उमेरमा निधन भएको थियो ।
ढकाल परिवारको तर्फबाट शोकसभामा स्वर्गीय पत्रकार ढकालका भाइ तथा पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकालले श्रद्धाञ्जलि तथा समवेदना प्रकट गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर