Aamsanchar

टेलिकमका कर्मचारी मदिरामा मस्त, सेवा भने अस्तव्यस्त

Author Image
बिहिवार, मंसिर ३०, २०७३

[सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल]ntc
बिर्तामोड। नेपाल टेलिकम बिर्तामोड शाखाका केही कर्मचारी कार्यालय समय अवधिमा मदिरा सेवन गरेर आउने गरेको पाइएको छ ।

सेवाग्राहीलाई सेवा प्रदान गर्नुको सट्टा दिउँसै उनीहरु नजिकै रहेका होटलमा मादकपदार्थ सेवनका लागि जाने गरेको आमसञ्चारकर्मीले गरेको छड्के अनुगमनका क्रममा पाइएको हो । 
यस विषयमा कार्यालय प्रमुख श्रीभद्र घिमिरे समक्ष जिज्ञासा राख्दा उनी नाजवाफ बनेका थिए । बुधबार दिउँसो १ बजे कार्यालय पुगेको आमसञ्चारकर्मीको टोलीलाई उनले टेलिकमले प्रभावकारी सेवा प्रदान गर्ने बताए पनि कर्मचारी अभावमा सयौं सेवाग्राही लाइनमा बस्न बाध्य थिए ।

शनिअर्जुन नगरपालिकाबाट सेवा लिन आएका एक सेवाग्राही कर्मचारी नभेटिएपछि फर्किएका थिए । नाम नबताउने सर्तमा उनले भने –‘एनसेल कम्पनीमा कुनै काम लिएर गयो भने तुरुन्तै हुन्छ तर टेलिकम धाएको एक वर्ष भयो अझै काम भएको छैन ।’

उनी मात्र होइन, उनीजस्ता धेरैको गुनासो नेपाल टेलिकमप्रति यस्तै छ । कार्यालय प्रमुख कार्यालको माथिल्लो तलामा बस्ने गरेको र तल्लो तलामा बस्ने फाँटका कर्मचारी समयअवधिमा भेटिदैनन् ।  १ बजदेखि साढे ३ बजेसम्म आमसञ्चारकर्मीको टोली कार्यालयमा बस्दा घिमिरे र प्रशासन फाटका तेजप्रसाद ओझामात्रै कार्यालय भेटिए । उनीसँगै काउण्टरमा बस्ने एक जना महिला कर्मचारी पत्रिका पढ्न मस्त थिइन् ।
सेवाग्राहीले आवश्यक फारम मागे झर्कने, पल्लो कोठामा जानोस् , नबुझेको कुरा बुझ्नचाहे तत्काल फलानो कोठामा गएर बुझ्नुहोस् उनको सोझो जवाफ यस्तै थियो ।
प्राधिविक जस्तो जिम्मेवार पदमा रहेका टेलिकमका एक कर्मचारी साढे तीनवजे मादक पदार्थ सेवन गरेर माछा बोकेर कार्यालय आएका थिए । कार्यालय समयअवधिभित्रै मादक पदार्थ सेवन गरेर आएको थाह पाउँदा पनि कार्यालय प्रमुखले उनलाई उन्मुक्ति दिदै किन मापसे गरेको भनेर सम्म एक शव्द सोध्न सकेनन् । १३ नम्वर कोठामा वस्ने उनी गिरी थरका प्राविधिक हुन् । कार्यालय आउँदा उनले ल्याएको माछा ८ नम्वर कोठामा राखेका थिए ।
मादक पदार्थ सेवन गरेर ‘डुङडुङती’ गन्हाउँदै आएका उनले सेवाग्राहीलाई सेवा दिनुको सट्टा अफिसभित्रै गुट्का र पान चपाएर उपरखुट्टी लगाएरमात्रै बसिरहे ।  आमसञ्चारकर्मीले कार्यालय समयअवधिभित्र कर्मचारी नभएको गुनासो गरेपछि कार्यालय प्रमुख तत्काल आफूबसेको माथिल्लो कोठाबाट तल्लो तलामा उत्रिएका थिए । फाटका कर्मचारी ढोका बन्द गरेर हिडेको देखेपछि उनी हत्तपत्त प्रशासन फाँटका तेजप्रसाद ओझा भएको कोठामा पुगेका थिए ।

लाइनगएसंगै फोन पनि चट्

नेपाल टेलिकमले तीनबर्ष यता झापाका विभिन्न ठाउँमा टावर राखेर सेवा सञ्चालन गरेपनि सहज रुपमा सेवा उपलव्ध गराउन नसक्दा पछिल्लो समय सेवाग्राही मारमा छन् ।
सहजै रुपमा सेवाग्राहीलाई सीमकार्ड उपलव्ध गराएपनि दुरसञ्चारले प्रभावकारी सेवा उपलव्ध गराउन नसक्दा ग्रामीण भेगका सेवाग्राही सबैभन्दा बढी मारमा परेका हुन् । नेपाल सरकाले घर–घरमा इन्टरनेट र हात हातमा मोवाइल सेवा पु¥याउने बताएपनि टेलिकमको सेवा सुधार नहुँदा सेवाग्राहीले हैरानी व्यहोर्नु परेको छ ।
नेपाल टेलिकमको उदाशीनताका कारण सुगम जिल्लाको रुपमा परिचित झापामा सूचनाको क्षेत्र भने अझैंपछि परेको सरोकारवालाको आरोप छ । गाउँ – गाउँमा सहजरुपमा सेवा प्रदान गर्ने भन्दै नेपाल टेलिकमले टावर राखेपनि त्यसमा प्रयोग हुने व्याट्री समयमा नफेर्दा विद्युत सेवा अवरुद्ध भएसंगै त्यसक्षेत्रका स्थानीयवासीले प्रयोग गर्दै आएको मोवाइल फोन समेत प्रभावित हुने गएको छ ।

यो समस्याबाट डाँगीवारी, चकचकी,शरणामती, कुमरखोद, गोल्धाप, राजगढ,जलथल, घेरावारी लगायतका दर्जन गाविसका सर्वसाधारण पीडित बनेका छन् । नेपाल टेलिकमले टावरमा प्रयोग हुँदै आएको व्याट्री समयमा नर्फेर्दा ‘व्याट्री व्याकप’ नभएर सेवा प्रभावित हुनेगरेको नेपाल टेलिकम बिर्तामोड शाखा प्रमुख श्रीभद्र घिमिरे स्वीकार्छन् । उनी भन्छन्–‘झापाका सात ठाउँमा राखिएको टावरमा यस्तै समस्या छ सुनुवाइको लागि क्षेत्रीय कार्यालय विराटनगरमा आजै पत्रचार गरेको छु ।’
टेलिकमले प्रभावकारी सेवा उपलव्ध गराउन नसकेपछि त्यस क्षेत्रका अधिकांशले एनसेल कम्पनीको सिमकाड अधिक प्रयोग गर्दै आएका छन् ।टेलिकमका बिर्तामोड शाखा प्रमुखका घिमिरेका अनुसार यो समस्या सहरी क्षेत्रमा पनि उस्तै छ । उनका अनुसार काँकरभिट्टामा राखिएको टावरमा पनि व्याट्रीकै समस्याले सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् ।
पटक – पटक कार्यालय प्रमुखले सेवाग्राहीलाई छिट्टै सेवादिने बताएपनि विगत एक वर्षदेखि दक्षिणी झापाका सेवाग्राही यही समस्याबाट पीडित बनेका छन् । एक वर्षअघिदेखि केही दिन भित्रै यो समस्याको समाधान हुने भन्दै कार्यालय प्रमुखले डेलिगेसन आएका सेवाग्राहीलाई भन्ने गरपनि अझैंसम्म समस्याको सुनुवाई भएको छैन । समस्या समाधानका लागि कार्यालय प्रमुखले प्रभावकारी कदम नचाल्दा झापाका सयौं सेवाग्राहीले टेलिफोन जस्तो अत्यावसकीय सेवा लिनबाट वञ्चित हुनुपरेको छ ।

विद्युत सेवा सुचारु भएको समयमा टेलिकमको सेवा सञ्चालन हुने गरेपनि विद्युत सेवा कटैती हुनासाथ टेलिकमको सेवापनि अबरुद्ध हुने गरेको छ । दक्षिणी क्षेत्रका सेवाग्राहीले फोन गर्न कतिवेला विजुली आउछ भनेर पर्खनुपर्ने बाध्यता रहेको छ । टेलिकम प्रमुख घिमिरे भन्छन्–‘ यो समस्या समाधानका लागि मेरो पहुँच वाहिर छ ।’

इन्टरनेट सेवा पनि उस्तै

नेपाल टेलिकमले एडिएसएल सेवा प्रदान गरिरहेपनि उक्त सेवा प्रभावकारी बन्न नसक्दा झापाका सेवाग्राहीले पछिल्लो समय हैरानी व्यहोर्दै परेको छ । पछिल्लो एकसातादेखि प्रभावकारी रुपमा इन्टरनेट सेवा उपलव्ध नहुदा यहाँका सेवाग्राहीले हैरानी व्यहोर्नु परेको हो । इन्टरनेट सेवा प्रति जनगुनासो बढेपनि आफूहरुले केही गर्न नसक्ने भन्दै नेपाल टेलिकम बिर्तामोड शाखाका कर्मचारी पन्छने गरेका छन् । इन्टरनेटको फाइवरमा समस्या आएको भन्दै टेलिकमले एक सातादेखि प्रभावकारी सेवा प्रदान गर्न सकिरहेको छैन् ।

मोवाइल सेवा पनि प्रभावित

इन्टरनेटनेट सेवाबाट हैरान भएका सेवाग्राहीले मोवाइलसेवाबाट पनि उस्तै सास्ती पाएका छन् । समयमा फोन नलाग्ने समस्या त छदैछ, फोन लागिहालेपनि कुरा बुझ्नै गाह्रो । पछिल्लो एक सातादेखि पोस्पेट मोवाइलमा एकतर्फी मात्र सुनिने समस्याले सेवाग्राही हैरान बनेका छन् । सेवाका विषयमा टेलिकम प्रमुख घिमिरेसंग जिज्ञासा राख्दा छुट्टै शाखाले यसको सेवा हेर्ने भएकाले आफूहरुले केही गर्न नसक्ने जवाफ दिदै पन्छने गरेका छन् ।

कानून बमोजिम कारवाही हुन्छ – सहायक प्रजिअ
झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले कोही कर्मचारी कार्यालय समयमा नआउने तथा कार्यलय समयमा नै मादक पदार्थ सेवन गर्ने गरेको पाइए त्यस्ता कर्मचारीलाई तत्काल कानून बमोजिम कारवाही हुने बताएका छन् ।

उनले आमसञ्चारकर्मीको टेलिफोन सम्पर्कमा भने – ‘तत्काल मेडिकल गर्ने र पटक पटक यस्तो कार्य दोहो¥याए सेवाबाट बर्खास्त गर्न सकिन्छ ।’
टेलिकम कर्मचारीको विषयमा उनले भने–यस विषयमा हाम्रो ध्यानाकर्षण भएको छ , भोलि नै जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई बोलाएर सोध्छौं ।’

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर