Aamsanchar

भन्सार अधिकृतको ‘सेटिङ’मा भित्रन्छ मोटरपाटर्स

Author Image
शुक्रवार, पौष १, २०७३

[सुरेन्द्र भण्डारी/पार्थ मण्डल]
झापा।15515879_944831978987232_1577616199_o

व्यापारीसँगको मिलेमतोमा छोटी भन्सार कार्यालय भद्रपुरका कर्मचारीले सामान भन्सार नै नगरी छाड्ने गरेको रहस्य एकपछि अर्को गर्दै खुल्दै आएको छ । कर्मचारीले देखावटीका लागि केही सामान भन्सार गरे पनि अधिकांश सामान भन्सार नकाटी छाड्ने गरेका छन् ।
लामो समयदेखि यस विषयमा पूर्वाञ्चल दैनिकले समाचार प्रकाशन गर्दै आए पनि देखावटीका लागि कार्यालय प्रमुख र त्यहाँ कार्यरत कर्मचारीले व्यापारीलाई उक्साउँदै आर्थिक लेनदेनमा सामान छाड्ने गरेका छन् । सञ्चारमाध्यमले समाचार प्रकाशन गरे पनि कर्मचारी तैं चुप मैं चुप हुँदै सामान छाड्दा राज्यले लाखौं रुपैयाँ राजश्व गुमाउने गरेको छ ।

पछिल्लो समय भन्सार अधिकृतको रुपमा दीपेन्द्रकुमार झा कार्यालय प्रमुख भएर आएपछि यो कार्यले अझ बढावा पाएको सरोकारवालाको भनाइ छ । उनले मोटर पाट्र्स आयातमा खुलेआम कमिशन लिने गरेको भन्सार स्रोतले नै दावी गरेको छ । नाम नबताउने शर्तमा एक कर्मचारीले भने– अधिकृत जहाँ, जहाँ सरुवा भएर जान्छन्, उतैबाट मोटर पाट्र्सका सामान नेपाल भित्र्ने गरेको छ ।

यसबाट पनि पुष्टि हुन्छ कि उनी र व्यापारीसँगको साँठगाँठमा राजश्व छलेर मोटर पाट्र्सका सामान खुलेआम भित्रिइरहेको छ । अरुले नचिनून् भनेर भन्सार अधिकृत झा कार्यालय समयअवधिमा सरकारी पोशाक लगाउनुको सट्टा सादा पोशाकमा व्यापारीसँग ‘सेटिङ’मा व्यस्त हुन्छन् । उनी मात्र होइन, त्यहाँ कार्यरत कोही पनि कर्मचारीले सरकारी पोशाक लगाउँदैनन् ।
पूर्वाञ्चलले विहीवार गरेको छड्के अनुगमनका क्रममा त्यहाँ कार्यरत कर्मचारी कोही पनि सरकारी पोशाकमा भेटिएनन् । सरकारले बार्षिक रुपमा कर्मचारीको पोशाक भत्ताका लागि ७ हजार ५ सय रुपैयाँ दिने गरे पनि रकम लिएर भन्सार कर्मचारी र भन्सार प्रमुख नै नियमको उल्लंघनमा उद्धत छन् । सरकारी पोशाक नलगाउँदा भन्सारका कर्मचारीलाई चिन्न स्थानीय व्यवसायीलाई सोध्नुपर्ने बाध्यता छ । विहीवार झाको ‘सेटिङ’मा ठूलो परिमाणमा मोटर पाट्र्स भित्रिदैछ भन्ने विशेष सूचनाको आधारमा पूर्वाञ्चलकर्मीको टोली छोटी भन्सार कार्यालय परिसरमा पुग्दा कर्मचारी नचिनेपछि स्थानीय व्यापारीलाई सोध्नुपरेको थियो ।

मोटरपाट्र्स भारतीय व्यापारी राजन राय लगायतको टोलीले छोटी भन्सार हुँदै ठूलो परिमाणमा नेपाल भित्र्याएका थिए । उनीहरु भारत पानीट्यांकीको भएको बताइएको छ । पानीट्यांकीबाट नेपाल भित्रिने मोटर पाट्र्स सोझै काँकरभिट्टा नाकाबाट आउँदा सहज छ । तर, भन्सार अधिकृत झाको ‘सेटिङ’मा छोटी भन्सार कार्यालय हुँदै एक महिनाको अवधिमा त्यस्तो सामान नेपाल भित्रिइरहेको छ– भन्सारका एक कर्मचारीले भने ।
मोटरपाट्र्समा भ्याट १३ प्रतिशतसहित कम्तीमा १० देखि ३० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरेको भन्सार कर्मचारीको भनाइ छ । तर, भन्सार कर्मचारीले पोका र परिणाममा देखावटी कडाई गरे जस्तै गरी सामानको मूल्यांकनमै अनियमितता गर्दै आफूखुशी सामानको रेकर्ड राख्ने गरेका छन् । विहीवार भारतीय व्यापारी रायले भन्सारमा हार्डवेयर र मोटरपार्टसमा २ लाख ४४ हजार ३ सय ८८ मात्र राजश्व तिरेर सामान लगेको भन्सारको तथ्यांकमा उल्लेख छ । हरिओम मोटरपाट्र्स फर्मको नाममा १ सय १२ कार्टुन हार्डवेयरमा १ लाख १६ हजार ७ सय ८९ र बानिया अटो मोबाइल्स फर्मको नाममा ५७ कार्टुन मोटरपाट्र्समा १ लाख २७ हजार ५ सय ९९ रुपैयाँ राजश्व तिरेको देखिन्छ ।
यसअघि पनि साहले मंसीर १२ गते हरिओम मोटरपाट्र्स फर्मको नाममा १ सय ७१ कार्टुनको १ लाख ६७ हजार ८ सय ६ रुपैयाँ र तेटोम अटो मोबाइल्स फर्मको नाममा ३९ कार्टुनको १ लाख २१ हजार ८ सय ४० रुपैयाँ तिरेर मोटरपाट्र्स लगेको देखिन्छ । दुवै दिन लगेको सामानको परिणाम र राजश्व तिरेको रकम हेर्दा जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छ कि मूल्यांकनमा कर्मचारीले कति अनियमितता गर्दै आइरहेका छन् ।

हार्डवेयरका सामानमा कम मूल्यांकन लाग्ने गरेकोले मोटरपाट्र्सलाई समेत कर्मचारीले हार्डवेयरका सामान बनाएर पठाउँदै आएको कर्मचारी निकट व्यापारी स्रोतको दावी छ । व्यापारीको कामलाई सहज बनाए बापत कर्मचारीले उनीहरुबाट जिन्सी सामान पनि उपहार स्वरुप लिने गरेको दृश्य पूर्वाञ्चलकर्मीले कैद गरेका छन् ।
सीसी क्यामेरा चलेन
कात्तिक महिनादेखि भन्सारमा अनियमिता तथा चोरी तस्करी नियन्त्रणका लागि नाइट भिजन सीसी क्यामेरा जडान गरे पनि सीसी क्यामेराको कुनै अर्थ नै देखिँदैन । सामान चेकजाँच गर्ने स्थानमा जडान गरिएको सीसी क्यामेरा बाहेक अन्य स्थानमा पनि भन्सार कर्मचारीले सामान चेकजाँच गर्दै आइरहेका छन् । जुन गतिविधि सीसी क्यामेरामा कैद नै हुँदैन ।

क्यामेराको लेन्सले नभेटाउने स्थानबाट व्यापारीसँग भन्सारका कर्मचारीले सामान चेकजाँच गरे जस्तो गर्दै सेटिङमा छाड्ने गरेका छन् । भन्सारको अधिकृतको कोठा अगाडि रहेको एउटा सीसी क्यामेरा विहीवार बन्द अवस्थामा थियो । स्रोत भन्छ– जुन क्यामेरा केही समय यता चलेकै छैन । मुख्य क्यामेरा नै नचल्दा भन्सार भित्रको गतिविधि हेर्न पाइँदैन । यता यस विषयमा भन्सार अधिकृत दीपेन्द्रकुमार झासँग जिज्ञासा राख्दा उनले भन्सारको पर्खालमा लगाउने तारजालीको काम गर्दा विद्युत सट भएपछि मुख्य क्यामेरा बिग्रिएको बताए ।
भन्सारभित्रै ट्राफिक नियम उल्लंघन
ओभरलोड गरेर भन्सारबाट सामान निकासी गर्दा ट्राफिक प्रहरी मुकदर्शक भनने गरेको छ । भन्सारभित्र प्रवेश गरेका साना तथा ठूला सवारीसाधनले ओभरलोड सामान हालेर गन्तव्यतर्फ लैजाँदा समेत ट्राफिक प्रहरी मौन रहन्छ ।

भन्सार अगाडि नै प्रहरी तैनाथ हँुदा समेत प्रहरीकै आँखा अगाडि नै सवारीसाधनले ट्राफिक नियम उल्लंघन गर्दा न त ट्राफिक बोल्छ, न त सशस्त्र, न त जनपथले नै केही भन्छ । यसैक्रममा हार्डवेयर र मोटरपाट्र्स लोड गरेको ना३ख ८२३८ नम्बरको मिनि ट्रकले ट्रली खोलेर नै सामान ओभरलोड गरेको भन्दै सञ्चारकर्मीले तस्वीर कैद गर्न थालेपछि भद्रपुरमा रहेको ट्राफिक प्रहरीले विहीवार पहिलोपटक भन्सारबाट निस्किएको सवारीलाई कार्वाही गरेको छ ।

सो ट्रक चालकले सामान ओभरलोड गरेको र रोड परमिट नलिएको फेला परेपछि दुई हजार जरिवाना गराएको ट्राफिक प्रहरी खेम ढकालले पूर्वाञ्चललाई बताए ।
भन्सार तिरेको सामानमा प्रहरी हस्तक्षेप हट्यो
भन्सारमा राजश्व तिरेर निस्किएको सामानमा बाटोमा चेकजाँच गर्न प्रहरीले छाडेको छ । प्रहरीले व्यापारीलाई दुःख दिन छाडेपछि व्यापारसँगै भन्सार कर्मचारीको अहिले छोटी भन्सार कार्यालय भद्रपुरमा राज चलेको छ ।

भद्रपुर भन्सारमा राजश्व तिरेर निस्किएको सुर्ती तथा अन्य सामान नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पठाएको थियो । राजश्व अनुसन्धान कार्यालयले ती सामान ससम्मान छाडेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई राजनीतिक दवाव आयो, त्यसैले अहिले भन्सारबाट निस्किएको सामानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सडक हस्तक्षेप बन्द गरेको प्रहरी निकट स्रोतले बताएको छ ।

प्रहरीले सडक हस्तक्षेप गर्न छाडेपछि फेरि भन्सारमा व्यापारीको चलखेल बढ्न थालेको छ ।  यता भन्सार प्रमुख दीपेन्द्र झाले भने व्यापारीको सेटिङम झाले आफूहरुले नभित्र्याएको बताएका छन् । उनले मोटर पाट्र्स भित्र्न पाउँछ भन्दै अगाडि भने यो सेटिङमै भित्रिएको होइन ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर