Aamsanchar

दोलखाकी युवतीको शव दुई सातादेखि कतारमा अलपत्र

Author Image
बुधवार, पौष ६, २०७३

दोलखा ।1482291910body

कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन ।

वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो ।

कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हो । तर दुई साता बित्न लाग्दा समेत घटनाको छानबिन र शव स्वदेश ल्याउनेबारे सम्बन्धित निकायले कुनै पहल नगरेको मृतकका भाइ गोविन्द थामीले बताए ।

कोठामा सँगैबस्ने दोलखा सुष्पाक्षमावती माइती घर भई सिन्धुपाल्चोक विवाह गरेकी सुशीला बुढाथोकीको प्रत्यक्ष संलग्नतामा उनको हत्या भएको आफन्तजनको आरोप छ ।

आफन्तजनका अनुसार सुशीलासँग गम्भीर विवाद भएको भोलिपल्ट विन्दुलाई मृत भेटिएको हो । मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घटनाबारे केही छानबिन गरिरहेको बताइएको छ । मृतकका आफन्तजनले भने एकपक्षीय रुपमा घटनाको छानबिन गराएर घटनालाई आत्महत्या बनाई दोषीलाई उन्मुक्ति दिने र पीडित परिवारलाई क्षतिपूर्ति नदिलाउने चलखेल भइरहेको बताएका छन् ।

मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँग विवाद हुनु नै हत्याको प्रमाण भएको बताए । तर प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरुलाई थप पीडा दिने काम भइरहेको उनको गुनासो छ ।

घटना भएको जानकारी पाएदेखिनै मृतकका आफन्तजन नुन बारेर बसेका छन् । मृतक थामीलाई काठमाडौँ धापासीस्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो ।

उक्त कम्पनीले कतारबाट प्रहरी रिपोर्ट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्नसक्ने जनाएको छ । असुरक्षित मानिएको खाडीमुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिबन्ध लगाए पनि फुकुवा गरिसकेको छ ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर