सुरुङ्गा। कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र कनकाई माध्यमिक विद्यालयको संयोजनमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
सो स्पर्धामा कनकाई मावि सुरुङ्गा, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बा र भृकुटी मावि दुर्गापुरका कक्षा ११–१२ मा अध्ययनरत ९ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कनकाई माविकी सरु मगर प्रथम, कनकाई माविकै अभिषेक दर्नाल द्वितीय, भृकुटी माविकी अञ्जना चेम्जोङ तृतीय र कनकाई माविकी समीक्षा बस्नेतले सान्त्वना स्थान ल्याएका थिए ।
विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागीलाई ‘लोकतन्त्रमा आवधिक निर्वाचनको महत्त्व’, ‘शिक्षामा प्रविधिको महत्त्व’ र ‘अनुशासन विद्यार्थीको गहना’ विषयहरू प्रतियोगिता शुरु हुनुभन्दा ५ मिनेटअघि दिइएको थियो र उनीहरूले दिइएका विषयमध्ये कुनै एक विषय छनोट गरी आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रम कनकाई मावि शिक्षक–अभिभावक संघका अध्यक्ष नेत्रप्रसाद प्रसाईको अध्यक्षता र कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगीले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतम, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा प्रसाई पाठक लगायतले मन्तव्य राखेका थिए ।
प्रतियोगितामा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा नेपाली विभाग प्रमुख उपप्राध्यापक कमला सुवेदी र सरस्वती मावि जामुनबारीका नेपाली शिक्षक सूर्यप्रसाद अधिकारीले निर्णायकको भूमिका निभाएका थिए ।
कार्यक्रममा भृकुटी मावि दुर्गापुरका शिक्षक डिल्लीराम परदेशीले गजल, विद्यार्थीहरू समीर तामाङ र निशा रसाइलीले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कनकाई माविका पूर्व प्रअ गोपीकृष्ण भट्टराई, सहायक प्रअद्वय हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटी, आधारभूत तह संयोजकद्वय खड्गप्रसाद आचार्य र खेमराज भट्टराई, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका शिक्षक लेखनाथ उप्रेती लगायतको आतिथ्य रहेको थियो । कार्यक्रम कनकाई माविका शिक्षक तीर्थराज खरेलले सञ्चालन गरेका थिए ।