Aamsanchar

नेपाली महिला आरोहीले कञ्चनजङ्घा आरोहण गर्ने

Author Image
शुक्रवार, पौष ८, २०७३

काठमाडौँ,विश्वको-तेस्रो-अग्लो-हिमाल-कञ्चनजङ्घा

नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ । तीन सदस्यीय महिला आरोहीले पहिलो पटक कञ्चनजङ्घाको आरोहणको सो साहसिक यात्राको घोषणा गरेको हो ।

कञ्चनजङ्घा आरोहणका हिसाबले विश्वकै अप्ठ्यारो हिमालको रुपमा मानिन्छ । उक्त हिमालमा हालसम्म ३४४ स्वदेशी तथा विदेशीले मात्र सफल आरोहण गरिसकेका छन् ।  जलवायु परिवर्तन न्यूनीकरणको सन्देश लिएर विश्वकीर्तिमानी आरोही माया शेर्पाको नेतृत्वमा महिला टोलीले कञ्चनजङ्घा आरोहण गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसअघि विश्वको अग्लो हिमाल सगरमाथा (८,८४८ मी नेपाल), र दोस्रो अग्लो हिमाल केटु (८,६१२ मी पाकिस्तान) को सफल आरोहण गरेको उक्त आरोहण दलले ‘थ्रि ओमेन, थ्री टप’ भन्ने नाराका साथ सन् २०१७ अप्रिल र मे महिनामा कञ्चनजङ्गा हिमालको आरोहण गर्ने तयारी गरेको हो ।
प्रतिकूल वातावरणसँगै जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न राज्य र विश्वलाई सकारात्मक सन्देश दिन टोलीको अभियानको मुख्य धेय रहेको आरोहण टोली प्रमुख माया शेर्पाले बताउनुभयो । उहाँले भूकम्पपछिको नेपालको पर्वतीय पर्यटनलाई विश्वसामु सुरक्षित रहेको सन्देश प्रवाह गर्न अभियान सान्दर्भिक हुने उल्लेख गर्नुभयो ।

सेभेन समिट फाउन्डेसनमार्फत आरोहण जान लागेको टोलीको कञ्चनजङ्घा आरोहणका लागि करिब रु ३६ लाख लाग्ने र उक्त रकम विभिन्न निकायबाट सहयोग जुटाइनेछ ।  आरोही टोलीलाई बिदाइ गर्दै नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि तीन शिखरबाट महिलाले सन्देश प्रवाह गर्न आरोहण सान्दर्भिक हुने विचार व्यक्त गर्नु भयो ।

सो अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पाले महिला आरोही टोलीलाई रु पाँच लाख दिने घोषणा गर्नुभयो ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर