Aamsanchar

बौद्धमा विश्व शान्ति पूजा सुरु

Author Image
शनिवार, पौष ९, २०७३

काठमाडौं :boudha-photo_2ZRNVx1pzn

सम्पूर्ण प्राणीको सुख, शान्ति र कल्याणको कामनासहित बौद्धमा आजदेखि गुरु बज्र जप (विश्व शान्ति पूजा) सुरु भएको छ।

बुद्ध समाज सेवा केन्द्रले आयोजना गरेको १० दिन लामो शान्ति पूजाको नेतृत्व श्यरटुल दम्क्ष्यो ग्यछो रिन्पोछेले गरेका छन्। पूजाका लागि भारतको हिमाञ्चल प्रदेशबाट रिन्पोछे नेपाल आएका हुन्।  विश्व शान्ति पूजाको आज स्वास्थ्यमन्त्री गगनकुमार थापाले उद्घाटन गरे।

उनले विश्वमा शान्ति प्रवद्र्धन गर्न यस्ता कार्यक्रम सहयोगी हुने बताए। ‘गौतमबुद्धको जन्म नेपालमै भएको हो र बुद्धत्व पनि नेपालबाटै प्रारम्भ भएको हो, यो सत्यलाई कसैले पनि लुकाउन सक्दैन, यसको थप दार्शनिक आधार खोजेर गौरवका रुपमा प्रचारप्रसार गर्न जरुरी छ,’ उनले भने।

मन्त्री थापाले बुद्धले देखाएको बाटोलाई व्यावहारिक रुपमै आत्मसात् गर्न सके त्यसले सबै नेपालीको कल्याण हुने विचार व्यक्त गरे।  कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीद्वय आनन्द पोखरेल र कृपाशुर शेर्पाले बुद्ध दर्शन कुनै जाति विशेषको नभई विश्वकै दर्शन भएको बताए।  विश्व शान्ति पूजामा १० करोड महासिद्धि मन्त्र जपसमेत गरिने बताइएको छ।

बज्र गुरु मन्त्रमा अटल तथा विनाश नहुने शक्ति रहेको विश्वास बौद्ध धर्मावलम्बीहरुमा छ।  मानिसको विचारमा शुद्धीकरण ल्याउन र अहङ्कार हटाउन शान्ति पूजा गर्न लागिएको आयोजकले जनाएको छ।

बौद्ध विश्वास अनुसार यो वर्ष अग्नि बाँदर वर्ष परेको र गुरु रिन्पोछेको जन्म वर्ष पनि परेकाले मन्त्र जप तथा विश्व शान्ति पूजा गर्न लागिएको हो।  पूजा अवधिभर निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने भएको छ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर