कनकाई । झापाको कनकाई नगरपालिका सुरुंगा स्थित हरिकुल नमुना माध्यमिक विद्यालय र लायन्स क्लव अफ सुरुंगाकोे संयुक्त आयोजनामा माटो बचाउन अभियान सुरु भएको छ ।
विद्यार्थीहरुलाई माटोको महत्व बारे जानकारी गराउने उदेश्यले शुक्रबार कनकाई नगरपालिका वडा नं.३ स्थित गोहीखाडीमा बालबालिकाहरुलाई माटोमा खेल्न लगाएर प्रत्यक्ष रुपमा माटोको महत्वबारे जानकारी दिईएको थियो । विद्यार्थीहरुले जोतेको ठाउँमा नाचेर, एक आपसमा माटो हानाहान गर्दै माटो संग रमाएका थिए । सो पस्चात माटो बचाउ भन्ने सचेतना व्यानर र प्लेकार्डसहित सुरुंगा बजार पनि परिक्रममा गरेका थिए । कार्यक्रममा ५० भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास आउनु, उर्भरा जमिनको विनास गरिदैजानु, बालीनालीमा विषाक्त प्रयोग जस्ता कारणले अन्न उत्पादन घटदै जादाँ कतिपय देशमा भोकमरी, अनिकाल देखा परेको डरलाग्दो परिस्थितीलाई देखेर बेलैमा माटो बचाउन नसके आउदो पुष्ताले खान नपाएर भोकभोकै मर्नुपर्ने र मानव सभ्यताको नै विनास हुनसक्ने भन्दै माटो बचाउ अभियनमा सबैले लाग्नु पर्ने कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि एवं कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, विषेश अतिथि वडा नम्बर ३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरिया, लायन्स क्लव क्याविनेट सेक्रेटरी लिलाप्रसाद चिमरिया, हरिकुलकी कार्यकारी प्रमुख, माटो बचाउँ अभियनकी अभियन्ता ऋषा रावल थापा, प्रिन्सिपल रोशन खत्री, लायन्स क्लव सुरुंगाका उपाध्यक्ष संजय गजुरेललगायतले माटो बचाउँ अभियानको बारेमा आफ्नो धारणा राखेका थिए ।
भारतीय प्रशिद्ध व्यक्तित्व सदगुरुले सुरु गरेको माटो बचाउ भभियन विश्वव्यापी हुदै गएको अवस्थामा नेपालमा इसा फाउण्डेशनले यस अघीनै माटो बचाउ अभियन सुरुगरेकोे छ । झापामा भने पहिलो पटक हरिकुल र लायन्स क्लवबाट माटो बचाउ अभियान सुरु भएको हो ।
हरिकुल नमुना माध्यमिक विद्यालयका संचालक सदस्य राजु थापा र लायन्स क्लव अफ सुरंगाका अध्यक्ष साजन थापाको संयुक्त अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको संचालन सन्दिप मरासनीले गरेका थिए ।
नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको माटो विज्ञहरू बताउँछन् । देशका ५५ वटा जिल्लामा ३२ वर्षअघि माटोको सर्भे भएको थियो । सोही सर्भेको आधारमा माटोको मूल्याङ्कन गरी विभिन्न कार्यमा प्रयोग गरिरहेको छ । अर्को सर्भे गर्ने बेला भएको छ तर सरकारले त्यसमा चासो नदिएको कारण माटोसम्बन्धी काम प्रभावकारी हुन नसकेको माटो बचाउ अभियन्ताहरुले बताएका छन् ।
हाल ७७ वटै जिल्लामा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको देखिन्छ । यस्तै अवस्था रही रह्यो भने ८०–९० वर्षभित्र एउटा पनि जमिन खेतीयोग्य नरहने वैज्ञानिकहरूको तर्क छ ।
दस वर्षअघि माटोमा अम्लीयपन ६३ प्रतिशत रहेकोमा अहिले ६९ प्रतिशत पुगेको दाबी वैज्ञानिकहरूको रहेको छ । अम्लीयपन बढ्दा प्राङ्गारिक पदार्थ घट्छ र उर्वराशक्ति पनि कमजोर हुन्छ । नाइट्रोजन, फस्फोरस र पोटास माटोमा हुने प्राङ्गारिक पदार्थ हुन् । यीबाहेक अन्य १३ प्रकारका सूष्म र सहायक तवरले पनि माटोलाई उर्वर बनाउँछन् ।
नक्सा तयार गरिएका जिल्लाहरूको सारंशमा उर्वराशक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई मधेसको माटोको उर्वरा शक्ति कमजोर देखिएको छ । माटो व्यवस्थापन निर्देशनालयका अनुसार बर्दिया, कैलाली, महोत्तरी, चितवन, रूपन्देही, नवलपरासी, कञ्चनपुर, बाहेकका जिल्लामा उर्वरा शक्ति एकदमै कम रहेको छ । गुणस्तरीय माटोका लागि प्राङ्गारिक स्रोत दुई देखि पाँच प्रतिशतसम्म हुनुपर्नेमा तर एक प्रतिशतभन्दा कम रहेको विभिन्न परीक्षणले देखाएको छ ।
गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्राङ्गारिक पदार्थ दुई देखि पाँच प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १११ देखि २८१ किलो प्रतिहेक्टर हुनुपर्ने माटो व्यवस्थापन निर्देशनालयले जनाएको छ ।
माटो बिग्रिनुको धेरै कारणमध्ये किसानले रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गर्नु रहेको छ । माटो परीक्षण नगरिकन जथाभावी प्राङ्गरिक मलको प्रयोग गरेको हुन्छ, जसले गर्दा दिनदिनै माटोको उर्वरा शक्तिमा ह्रास आएको विज्ञहरुको भनाई रहेको छ । देशको माटोको अवस्था सन्तोषजनक छैन । ९५ प्रतिशत खानेकुरा माटोमार्फत प्राप्त हुन्छ तर माटो दूषित भएका कारणले मानिस अस्वस्थकर हुँदै गएको युएनले जनाएको छ ।
भिडियो पनि हेर्नुहोस् ।